Skip to main content

Nidan Media

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन नयाँ नेतृत्व चयनको निर्णायक चरणमा पुगेको छ। बिहीबार बिहान १० बजेदेखि हुने मतदानबाट सभापतिसहित नयाँ केन्द्रीय कार्यसमिति चयन हुँदैछ। अन्तिम मतदाता नामावलीमा सात हजार २५५ प्रतिनिधि कायम भएका छन्।

सभापति पदमा वर्तमान सभापति गगनकुमार थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन्। थापा नेतृत्वको निरन्तरताको दाबीसहित मैदानमा रहँदा खड्गीले पनि सभापतिमा उम्मेद्वारी दिएका छन्।

यसपटकको प्रतिस्पर्धामा विगतका प्रमुख नेताहरू शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायत नेतृत्वको चुनावी मैदानमा नरहेको अवस्था छ।

पदाधिकारीतर्फ पनि प्रतिस्पर्धा बहुआयामिक देखिएको छ। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एकल उम्मेद्वारी परेको छ भने महिला उपसभापतिमा पुष्पा भुसालको एकल उम्मेदवारी छ।

खुला उपसभापतिका दुई पदका लागि गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरुङ, मधु आचार्य, मिनेन्द्रप्रसाद रिजाल र सुरेन्द्रराज पाण्डेसहितका उम्मेद्वार छन्।

खुला महामन्त्रीका दुई पदका लागि अमरसिंह पुन, उदयशमशेर राणा, गुरुराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, सुनिल शर्मा र सन्तोष उपाध्याय प्रतिस्पर्धामा छन्। महिला महामन्त्रीमा डिला संग्रौला पन्त, महालक्ष्मी उपाध्याय ‘डिना’ र रीता खनालको उम्मेद्वारी परेको छ।

यसले यसपटकको महाधिवेशनलाई केवल सभापति चयनको निर्वाचनमा सीमित नराखी आगामी कांग्रेसको संगठनात्मक दिशा र नेतृत्व संरचना तय गर्ने प्रक्रियाका रूपमा अघि सारेको छ।

विशेषगरी दोस्रो पुस्ताका धेरै प्रभावशाली नेता चुनावी प्रतिस्पर्धाबाट बाहिर रहेकाले नेतृत्व हस्तान्तरणको प्रश्न पनि महाधिवेशनको महत्वपूर्ण पाटो बनेको छ।

मतदानका लागि काठमाडौँका तीन स्थानमा सात मतदान केन्द्र व्यवस्था गरिएको छ। राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिले मतदान गर्नेछन्। खुलामञ्चमा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिमका साथै भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट आएका प्रतिनिधिका लागि व्यवस्था गरिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवनबाट मतदान गर्नेछन्।

यसअघि बिहान ७ बजेबाट मतदान गर्ने कार्यक्रम रहे पनि वर्षा र केही प्राविधिक कारणले तीन घण्टा ढिला गरिएको निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले बताएका छन्। मतदानअघि प्रतिनिधिको परिचय र मतदाता नामावली रुजु गरिनेछ। त्यसपछि मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ।

यसरी कांग्रेसको १५औँ महाधिवेशन अब घोषणापत्र, प्रतिवेदन र राजनीतिक बहसभन्दा अघि बढेर नेतृत्व चयनको चरणमा पुगेको छ। सभापतिका दुई उम्मेद्वार र विभिन्न पदाधिकारीमा रहेका प्रतिस्पर्धीबीचको चुनावी परिणामले आगामी दिनमा पार्टीको नेतृत्व संरचना र संगठन सञ्चालनको दिशासमेत निर्धारण गर्नेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.