Nidan Media

मुस्ताङ भ्रमण सकेर काठमाडौं फर्किए प्रधानमन्त्री बालेन, निजी भ्रमणले बढायो चासो

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साह (बालेन) मुस्ताङको निजी भ्रमण सम्पन्न गरी आइतबार काठमाडौँ फर्किएका छन्। परिवारका सदस्यसहित शुक्रबार काठमाडौँ-पोखरा हुँदै मुस्ताङ पुगेका प्रधानमन्त्री साहले शनिबार प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा दर्शन तथा पूजाआजा गरेका थिए।

प्रधानमन्त्री साह शनिबार बिहान स्थलमार्ग हुँदै बेनी-जोमसोम सडकबाट मुस्ताङ पुगेका थिए। दिउँसो करिब ३ बजे जोमसोम पुगेपछि उनी घरपझोङ-३ स्थित पुथाङ विमानस्थल नजिकैको होटल ओम्स होममा बसेका थिए। करिब साढे तीन घण्टा आराम गरेपछि उनी साँझ मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका थिए।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री साहले शनिबार साँझ मुक्तिनाथ मन्दिरमा दर्शन गरी जोमसोम फर्किएका थिए।

मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार उनी साँझ ७ः३० बजे मन्दिर प्रवेश गरेका थिए र करिब आधा घण्टा पूजाअर्चनामा बिताएर जोमसोम फर्किएका थिए।

प्रधानमन्त्रीको मुस्ताङ भ्रमण निजी भनिए पनि उनको आगमनले स्थानीयस्तरमा भने निकै चासो बढाएको थियो। प्रधानमन्त्रीको टोली जोमसोम पुगेपछि स्थानीय तथा सरोकारवालामा उनको भ्रमणको उद्देश्य र आगामी कार्यक्रमबारे जिज्ञासा देखिएको थियो। यद्यपि निजी भ्रमण भएकाले मुस्ताङ बसाइको विस्तृत कार्यक्रमबारे सम्बन्धित निकायले औपचारिक जानकारी दिएको थिएन।

मुक्तिनाथ दर्शनबाहेक प्रधानमन्त्री साहले मुस्ताङका अन्य धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्ने कार्यक्रम थियो वा थिएन भन्नेबारे पनि स्पष्ट जानकारी सार्वजनिक भएन। त्यसैले उनको भ्रमणलाई धार्मिक आस्थासँग जोडिएको पारिवारिक भ्रमणका रूपमा मात्र लिने कि प्रधानमन्त्रीको तहबाट मुस्ताङको पर्यटन, पूर्वाधार र स्थानीय अवस्थाबारे अनौपचारिक बुझाइ लिने अवसरका रूपमा हेर्ने भन्ने प्रश्न पनि उठेको छ।

प्रधानमन्त्रीको निजी भ्रमणमा औपचारिक कार्यक्रम नरहे पनि मुस्ताङजस्तो धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण जिल्लामा उनको उपस्थितिले स्वाभाविक रूपमा सार्वजनिक चासो बढाएको छ।

विशेषगरी मुक्तिनाथ क्षेत्रको पर्यटन, सडक तथा पूर्वाधारको अवस्थासँग जोडिएका विषयमा प्रधानमन्त्रीको ध्यान जान सक्ने अपेक्षा स्थानीयमा देखिन्छ।

भ्रमण सम्पन्न गरेपछि प्रधानमन्त्री साह आइतबार जोमसोम-बेनी सडकमार्ग हुँदै काठमाडौँ फर्किएका हुन्। निजी भ्रमण छोटो भए पनि प्रधानमन्त्रीको मुस्ताङ आगमन, मुक्तिनाथ दर्शन र त्यस क्रममा देखिएको स्थानीय चासोले भने उनको भ्रमणलाई अर्थपूर्ण बनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.