काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको अपार समर्थन हुँदाहुँदै पनि कम्युनिस्ट आन्दोलन र यसबाट प्राप्त उपलब्धि जोगाउन नसक्नु गम्भीर प्रश्न भएको बताएका छन् ।
कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलन अहिले रक्षात्मक अवस्थामा पुग्नुका कारणबारे गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताए ।
नेपाली जनताले पटक–पटक कम्युनिस्टलाई विश्वास गर्दै निर्वाचनमा अत्यधिक मत दिएको स्मरण गर्दै उनले त्यसअनुसार उपलब्धि जोगाउन नसकिएको बताए ।
उनले लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि खोसिँदै गएको तथा राष्ट्रिय स्वाधीनता संकटमा परेको बताए ।
यस्तो अवस्थामा विचार मिल्ने शक्तिबीच पार्टी एकता, निश्चित मुद्दामा सहकार्य र विगतमा शान्ति, संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा सहकार्य गरेका शक्तिबीच मोर्चा आवश्यक रहेको उनको भनाइ थियो ।
प्रचण्डले विगतका गम्भीर त्रुटिको समीक्षा नगरी कम्युनिस्ट शक्तिबीच एकता हासिल गर्न र त्यसलाई दिगो बनाउन कठिन हुने बताए ।
उनले अहिलेको परिस्थिति सबैलाई आत्मसमीक्षाका लागि बाध्य बनाएको उल्लेख गर्दै कम्युनिस्ट आन्दोलनको पुनर्गठन र एकता आजको आवश्यकता भएको बताए ।




