Nidan Media

विद्यालय घटनाको चर्को आलोचना भएपछि सांसद पोखरेलले मागे माफी [विज्ञप्ति]

काठमाडौँ। ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकास्थित चण्डेश्वरी माध्यमिक विद्यालय, पोल्थलीमा भएको घटनापछि विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद विश्वराज पोखरेलले अन्ततः औपचारिक रूपमा माफी मागेका छन्।

विद्यालय भ्रमणका क्रममा प्रधानाध्यापकले स्वागत नगरेको विषयलाई लिएर पोखरेलले सार्वजनिक रूपमा आक्रोश व्यक्त गरेका थिए।

सो अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको शैली आदेशात्मक र असंयमित भएको भन्दै व्यापक आलोचना भएको थियो।

विवाद बढ्दै जाँदा पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो व्यवहारप्रति खेद प्रकट गरेका छन्।

उनले भिडियो काटछाँट गरेर गलत सन्दर्भमा प्रस्तुत गरिएको दाबी गर्दै पनि सार्वजनिक जीवनमा आफ्नो बोली र व्यवहार अझ मर्यादित हुनुपर्ने स्वीकार गरेका छन्।

‘यथार्थ परिस्थिति र समग्र सन्दर्भ नबुझी केही क्षणका दृश्यहरू मात्र काटछाँट गरी सामाजिक सञ्जालमा आएको भिडियोले घटनाको पूर्ण परिप्रेक्ष्य विकृत हुन पुगेको छ,’ उनले भने ।

उनले थपे, ‘कहिलेकाहीं सम्पूर्ण सन्दर्भ नआउँदा केही क्षणले मात्र परिस्थितिलाई गलत रूपमा चित्रण गर्न सक्छन् । त्यसरी तथ्य र सन्दर्भ अपूर्ण रूपमा प्रस्तुत भई विवाद सिर्जना भएकोमा म खेद प्रकट गर्दछु ।’

उनले भविष्यमा अझ संयमित र जिम्मेवार भएर प्रस्तुत हुने प्रतिबद्धता पनि जनाएका छन्।

उनले भने, ‘यद्यपि, सार्वजनिक जीवनमा रहँदा मेरो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्थ्यो भन्ने कुरा म पूर्ण रूपमा स्वीकार गर्छु । यदि कसैको व्यवहारबाट असहज परिस्थिति सिर्जना भएको भए पनि मैले अझ बढी धैर्य, मर्यादा र सम्मानका साथ प्रतिक्रिया दिनुपर्थ्यो।’

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै पनि यो घटनाले तरंग ल्याएको छ।

पार्टीका अर्का सांसद गणेश कार्की ले सामाजिक सञ्जालमार्फत पदको घमण्ड नगर्न र विनम्रता कायम राख्न संकेतात्मक टिप्पणी गरेका छन्।

उनले जनप्रतिनिधि जनतासँग नजिक रहने भएकाले व्यवहारमा नम्रता आवश्यक रहेको सन्देश दिएका छन्।

यता, स्वतन्त्र सांसद तथा पूर्वमन्त्री महावीर पुनले पनि सांसदको व्यवहारप्रति असन्तुष्टि जनाउँदै जनप्रतिनिधि जनताको सेवक भएको स्मरण गराएका छन्।

विद्यालय भ्रमणबाट शुरू भएको यो घटना अहिले माफी, पार्टीभित्रको टिप्पणी र सार्वजनिक आलोचनासम्म पुगेको छ।

यसले जनप्रतिनिधिको व्यवहार, मर्यादा र लोकतान्त्रिक संस्कृतिबारे फेरि गम्भीर बहस शुरू गराएको छ।

यस्तो छ पोखरेलको विज्ञप्ति

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.