काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतसँग सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त एक सय ८४ अर्ब रुपैयाँ तत्काल लिने नभई आवश्यकता र आयोजना निर्माणको प्रगतिअनुसार उपयोग गरिने ‘लाइन अफ क्रेडिट’ भएको स्पष्ट पारेका छन्।
मंगलबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति र सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले नेपालले ५६ अर्ब रुपैयाँ अनुदान र एक सय ८४ अर्ब रुपैयाँ बराबरको ऋण सुविधा प्राप्त गरेको बताए।
उक्त ऋण विशेषगरी ऊर्जा तथा पूर्वाधार विकासमा उपयोग गर्ने सरकारको योजना रहेको उनको भनाइ छ।
नेपालको ऊर्जा क्षेत्रमा ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेकाले प्रसारण लाइनलगायत पूर्वाधार निर्माणमा यो ऋण उपयोगी हुने उनले बताए।
ऋणको ब्याजदर, अवधि र ग्रेस पिरियडबारे भारतसँग प्राविधिक वार्ता हुन बाँकी रहेको उनले जानकारी दिए।
अमेरिकी डलरको सट्टा भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने विकल्प खुल्नु विनिमय दरको जोखिम घटाउने उपलब्धि भएको उनको भनाइ छ।
वाग्लेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एकतर्फी हवाई रुटलाई दुईतर्फी बनाउनु नेपालको कूटनीतिक प्रयासको महत्त्वपूर्ण उपलब्धि भएको बताए।
बागडोगरा विमानस्थलसँग सम्बन्धित १२५ किलोमिटर नेपाली भूमि भारतले किनेको भन्ने समाचारलाई उनले भ्रामक र निराधार बताए।
सुनकोशी–सप्तकोशी उच्च बाँध आयोजना नयाँ नभई सन् २००४ देखि नै नेपाल-भारत संयुक्त अध्ययनमा रहेको उनले स्पष्ट पारे। अध्ययनका लागि विराटनगरमा संयुक्त आयोजना कार्यालय स्थापना गरिएको पनि उनले जानकारी दिए।
भारतसँग तयार गरिएको ‘विकसित भारत र समुन्नत नेपाल’ भिजन डकुमेन्टका १० ओटा स्तम्भ नै सहकार्यको कार्यक्षेत्र भएको उल्लेख गर्दै उनले छुट्टै पञ्चवर्षीय योजना आवश्यक नरहेको बताए। उक्त दस्तावेजले नेपालको विद्यमान नीति तथा योजनालाई विस्थापित नगर्ने उनको भनाइ थियो।
बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि दफावार छलफल भएको थियो।





