Skip to main content

Nidan Media

एनपीएलको दोस्रो क्वालिफायर आज, फाइनल प्रवेशका लागि चितवन र सुदूरपश्चिम भिड्दै

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत दोस्रो क्वालिफायर खेल आज हुँदैछ।

साँझ ५ बजेदेखि हुने खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो। चितवनले भने इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ६१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।

दोस्रो क्वालिफायरको विजेताले शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग फाइनल खेल्नेछ।

साविक विजेता लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको छ। सुदूरपश्चिम यसअघिका दुवै संस्करणमा फाइनल पुगेको टोली हो।

आठ टोली सहभागी प्रतियोगितामा विराटनगर किङ्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिएका छन्।

इलिमिनेटरमा चितवनको ६१ रनको जित

इलिमिनेटर खेलमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौँ गोर्खाजले ९ विकेट गुमाएर १४३ रनमात्र बनाउन सक्यो। काठमाडौँका विलियम बोसिस्टोले २८ बलमा ३७ तथा सहान अराच्चिगेले १३ बलमा २४ रन बनाए। भिम शार्कीले आक्रामक ब्याटिङ गर्दै १७ बलमा अविजित ३० रन जोडे।

चितवनका रिजन ढकालले १६ रन खर्चेर ४ विकेट लिए भने उसमा मिरले ३ विकेट झारे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेटको क्षतिमा २०४ रन बनाएको थियो। चितवनका कमिल मिशराले ५९ बलमा अविजित १२० रन बनाए। यो जारी एनपीएलको दोस्रो शतक हो। यसअघि पोखरा एभेन्जर्सका युवराज सम्राले कर्णाली याक्सविरुद्ध १०२ रन बनाएका थिए।

एनपीएलका अघिल्ला संस्करणमा पनि शतक बनेका छन्। पहिलो संस्करणमा पोखराका एन्ड्रेज हाउसले लुम्बिनी लायन्सविरुद्ध अविजित १०४ रन बनाएका थिए।

दोस्रो संस्करणमा पोखराकै एडम रोसिङटनले कर्णालीविरुद्ध अविजित १०८ तथा कर्णालीका मार्क वाटले लुम्बिनीविरुद्ध अविजित ११४ रन बनाएका थिए।

चितवनका कप्तान रवि बोपाराले पनि ४२ बलमा ५३ रनको योगदान दिए। काठमाडौँका कप्तान करण केसी र रशिद खानले समान २ विकेट लिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.