काठमाडौँ। चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूको अनौपचारिक राजनीतिक संवादको भिडियो सार्वजनिक भएपछि नेपाली राजनीति तरङ्गित भएको छ।
नेपाली कांग्रेसको आन्तरिक विवादमा शेरबहादुर देउवा पक्षले आधिकारिकता पाउनुपर्ने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रोक्न नहुने आशयको संवाद सार्वजनिक भएपछि रास्वपाको राजनीतिक सोच र कार्यशैलीमाथि प्रश्न उठेको छ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा २० सदस्यीय टोलीसहित चीन पुगेका रास्वपा सांसदहरू प्रविधि प्रदर्शनीमा रोबोट अवलोकन गरिरहेका बेला उक्त संवाद भएको बताइएको छ। भिडियो सुरुमा सांसद श्रीराम न्यौपानेकै फेसबुकबाट सार्वजनिक भएको थियो। उनले केही समयमै भिडियो हटाएपछि पत्रकार किशोर श्रेष्ठले पुनः सार्वजनिक गरेका थिए। त्यसपछि संवादको विषयले थप चर्चा पाएको हो।
भिडियोमा कांग्रेसको नेतृत्व देउवाकै हातमा रहनुपर्ने र अदालतले पनि त्यही पक्षलाई आधिकारिकता दिनुपर्ने आशय सुनिन्छ। ओली र एमाले नेता महेश बस्नेतको राजनीतिक गतिविधिले थप चुनौती सिर्जना गर्दा त्यसबाट रास्वपालाई फाइदा पुग्ने चर्चा पनि संवादमा छ। तर अरू दलको कमजोरीबाट मात्रै लाभ लिन नसकिने र आफूहरूले पनि काम गरेर देखाउनुपर्ने कुरा सांसदहरूले स्वीकार गरेको सुनिन्छ।
यही घटनाक्रमसँगै कांग्रेस सभापति गगन थापामाथि लगाइएको १८ करोड रुपैयाँको आरोप पनि रास्वपाकै राजनीतिक प्रपञ्चमा आएको हो कि भन्ने आशङ्काको सुइ उतैतिर सोझिएको छ। यद्यपि, उक्त आरोप र सांसदहरूको संवादबीच सम्बन्ध रहेको पुष्टि गर्ने प्रमाण सार्वजनिक भएको छैन। आरोपको सत्यतथ्य पनि स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी छ।
भिडियो सार्वजनिक भएपछि सांसद न्यौपानेले अनौपचारिक छलफलको मूल निष्कर्ष जनताले दिएको मत र विश्वासलाई काम, इमानदारी तथा परिणामबाट प्रमाणित गर्नुपर्ने रहेको बताएका छन्।
देउवा, ओली र प्रचण्डको विगतको कार्यशैलीप्रति असन्तुष्ट जनताले परिवर्तनका लागि रास्वपालाई अवसर दिएको उल्लेख गर्दै उनले सुशासन, विकास र सेवा प्रवाहमा ठोस परिणाम दिनुपर्ने बताएका छन्।
त्यस्तै, सांसद राजीव खत्रीले प्रतिस्पर्धा कमजोरसँग नभई मजबुतसँग गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। आफ्नो आवाज भएको भए कांग्रेसको आधिकारिकता गगन थापाले पाउनुपर्ने बताउने उल्लेख गर्दै उनले अरू दल कमजोर बनून् र त्यसको फाइदा आफूहरूले लिन पाऊँ भन्ने सोचले कतै नपुगिने टिप्पणी गरेका छन्।
रास्वपाले यस विषयमा औपचारिक धारणा सार्वजनिक गरेको छैन। भिडियोको पूर्ण सन्दर्भ र उठेका आरोपहरूको सत्यतथ्य स्पष्ट हुन बाँकी छ। परिवर्तनको अपेक्षासहित जनताले दिएको विश्वास जोगाउन रास्वपाले अरू दलको कमजोरी होइन, आफ्नै काम र परिणामबाट आफूलाई प्रमाणित गर्नुपर्ने प्रश्न यस घटनाले उठाएको छ।





