काठमाडौँ । काठमाडौँबाट ३२ ग्रामभन्दा बढी खैरो हेरोइन र चार लाख रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् ।
लागुऔषध कारोबारमा संलग्न गिरोहको निगरानी गर्ने क्रममा लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले कागेश्वरी मनोहरा नगरपालिका-६ बाट उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूलाई खैरो हेरोइन खरिद-बिक्री गरिरहेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा दोलखाको शैलुङ नगरपालिका-८ का २५ वर्षीय सविन कार्की र सप्तरीको शम्भुनाथ नगरपालिका-७ का ४१ वर्षीय अजय दास रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ३२ दशमलव ५८० ग्राम खैरो हेरोइन, नेपाली चार लाख रुपैयाँ, दुई थान डिजिटल तराजु र दुई थान मोबाइल बरामद भएको छ ।
उनीहरूलाई भदौ २ गते पक्राउ गरिएको र घटनाबारे लागुऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।





