प्युठान । प्युठानको झिमरुक गाउँपालिका-३ लामासेरास्थित बाग्दुलाबाट गौमुखी जाने सडकखण्डमा यात्रुबाहक जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।
नारीकोटबाट बाग्दुलातर्फ जाँदै गरेको लु.१ ज ४८३३ नम्बरको नमस्ते प्युठान यातायातको फोर्स गाडी ब्रेक फेल भएर सडकमा पल्टिएको हो। गाडीमा चालकसहित १४ जना सवार थिए।
दुर्घटनामा घाइतेहरूको बिजुवारस्थित निमतारा पोलिक्लिनिकमा उपचार भइरहेको छ। घाइतेमध्ये रबी सुनारलाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ।
दुर्घटनामा गौमुखी गाउँपालिका-७ नारीकोटका २५ वर्षीय चालक ऋषीराम केसी पनि थिए। प्रहरीले गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
घाइते हुनेमा गौमुखी गाउँपालिका-७ नारीकोटका ५० वर्षीया गीता गिरी, २७ वर्षीया सावित्रा परियार, ३३ वर्षीया लक्ष्मी विक, २८ वर्षीय रबी सुनार, ३५ वर्षीया सीता रोका, सीता रोकाका १० वर्षीय छोरा रबिन रोका र सोही स्थानका ५ वर्षीय सरप्राइज केसी रहेका छन्।
त्यस्तै, गुल्मीको मदाने गाउँपालिका-१ की २८ वर्षीया शान्ता परियार घाइते भएकी छन्।




