Nidan Media

सरकारले बाटो बिराए ‘कान समातेर’ सही ठाउँमा ल्याउँछौँ: सभापति लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र प्रतिबद्धताअनुसार काम गर्न नसके पार्टीले हस्तक्षेप गर्ने बताएका छन्।

उनले सरकार अहिले नै असफल भइनसकेको भन्दै असफल हुन नदिन आफूहरू सचेत रहेको बताए। सरकार आफ्नो बाटोबाट विचलित भए पुनः सही मार्गमा ल्याउने राजनीतिक क्षमता रास्वपासँग रहेको उनको भनाइ छ ।

उनले सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्न सकेन वा बाटो बिरायो भने सरकारलाई सही बाटोमा ल्याउने बताए। लामिछानेले आवश्यक परे जतिखेर पनि सरकारलाई कान समातेर सच्याउन सक्ने क्षमता पार्टीले राख्ने स्पष्ट पारे ।

उनले अहिले सरकारलाई सच्याउनुपर्ने अवस्था नआएको र त्यस्तो अवस्था आउन पनि नदिने बताए। सरकार आफ्नो ‘लिक’बाट बाहिरिए पुनः सही बाटोमा ल्याएर यात्रा सहज बनाउने उनको भनाइ छ ।

सरकार सञ्चालनका क्रममा आउने उतारचढावलाई हवाई उडानका क्रममा आउने ‘टर्बुलेन्स’सँग तुलना गर्दै लामिछानेले त्यस्ता अवरोधबाट नआत्तिन आग्रह गरे।

लामिछानेले सरकार असल नियत र सही दिशामा अघि बढिरहेको दाबी गर्दै आम नागरिकलाई ढुक्क रहन आग्रह गरे। उनले सरकारलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउने प्रतिबद्धतासमेत व्यक्त गरे।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.