काठमाडौँ। लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।
सडक विभागको विवरणअनुसार शनिबार दिउँसो ३ः३० बजेसम्म केही सडकखण्ड एकतर्फी सञ्चालनमा आए पनि केही स्थानमा पूर्ण रूपमा अवरुद्ध छन्।
काठमाडौँको नागार्जुन नगरपालिका-८ ठूलो खोलामा पहिरोका कारण सीतापाइला-धार्के सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ।
भोजपुर नगरपालिका-५ बोखिममा पहिरोका कारण मध्यपहाडी लोकमार्ग पनि एकतर्फी सञ्चालनमा ल्याइएको छ।
इलाम नगरपालिका-९ राजदुवालमा झापादेखि ताप्लेजुङ जाने मेची राजमार्ग र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-१ स्थित निलदोर्जे पर्यटक सडकखण्डमा समेत अवरोध रहेको विभागले जनाएको छ।
निलदोर्जे सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ।
काभ्रेको बीपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी सडकखण्डमा बाढीको जोखिमका कारण सवारी सञ्चालनमा समयसीमा तोकिएको छ।
बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म परिस्थिति हेरी सवारी सञ्चालन गर्न दिइने र राति यातायात रोक लगाइएको छ।
मकवानपुरको हेटौँडा-ठिङ्गन-बागमती-ललितपुर खण्डमा बाढी तथा पहिरोको सम्भावना छ।
त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ चारकिलो तथा वडा नं. २ कोदारी र लिपिङ क्षेत्रमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको विभागले जनाएको छ।
वैकल्पिक मार्ग भएका केही स्थानमा त्यसको प्रयोग गर्न सकिने जनाइएको छ।




