Nidan Media

पोखरा-५ को सन्तानेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन महायज्ञ

पोखरा। पोखरा महानगरपालिका-५ स्थित सन्तानेश्वर शिव मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित श्रीमद्भागवत महापुराण आयोजना गरिने भएको छ।

महापुराणलाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारीस्वरूप आयोजित वडा स्तरीय बृहत् आम भेलामा वडावासीले मन्दिर पुनर्निर्माणसँगै धार्मिक सम्पदा, संस्कृति, इतिहास र पर्यटन प्रवर्द्धनलाई जोडेर अभियान अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

भेलामा वडा नं. ५ का सामाजिक, राजनीतिक तथा धार्मिक व्यक्तित्व, आमा समूह, टोल विकास संस्था, विभिन्न संघसंस्था तथा जनप्रतिनिधिको उल्लेख्य सहभागिता थियो।

कार्यक्रममा हालसम्म संरक्षक परिवार, व्यवस्थापन समितिका सदस्य तथा सहयोगीबाट ७० लाख रुपैयाँ सहयोग संकलन भइसकेको जानकारी दिइयो।

महापुराण भदौ १७ देखि २४ गतेसम्म शिवालय मन्दिर प्राङ्गणमा सञ्चालन हुनेछ। पण्डित दीपकप्रसाद पौडेलले कथा वाचन गर्ने जनाइएको छ।
मन्दिर पुनर्निर्माणको कामसमेत शुरू भइसकेको र पहिलो चरणको निर्माण असोज मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको प्रचार-प्रसार समिति संयोजक लक्ष्मण बरालले जानकारी दिए।

पोखरा-५ कै गौरवको आयोजना बनाउने योजना

वडाध्यक्ष विष्णुप्रसाद बरालले महापुराणलाई पोखरा-५ कै इतिहासमा नमुना र ठूलो धार्मिक अभियानका रूपमा अघि बढाउने बताए। उनले सन्तानेश्वर मन्दिरलाई धार्मिक पर्यटनसँग जोडेर वडाको दीर्घकालीन ‘मेगा प्रोजेक्ट’का रूपमा विकास गर्ने योजना सुनाए।

वडाध्यक्ष बरालका अनुसार वडा नं. ५ ले शिक्षा, खेलकुद, पुल, सडक, पदमार्ग तथा पर्यटन र संस्कृतिलाई प्राथमिकतामा राखेर विभिन्न योजना अघि बढाएको छ।

शान्तिनगर चोकदेखि बिन्ध्यवासिनीसम्मको पदमार्ग निर्माणको काम अघि बढिरहेको बताउँदै उनले त्यसलाई सन्तानेश्वर मन्दिरसँग जोडेर धार्मिक पर्यटनको नयाँ गन्तव्य विकास गर्ने लक्ष्य रहेको बताए।

‘वडा नं ५ को धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा सबैभन्दा ठूलो शिवमन्दिर बनाएर छोड्नुपर्छ। यो समाजले बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्ने सम्पदा बन्नुपर्छ,’ उनले भने।

उनले विगतमा मनकामना मन्दिरमा सम्पन्न महापुराणबाट प्राप्त अनुभवले ठूलो धार्मिक कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न सकिने आत्मविश्वास बढेको बताए। यसपटक सबै वडावासीको साथ लिएर अझ व्यवस्थित र भव्य कार्यक्रम गर्ने उनको भनाइ छ।

तीन करोडसम्म सहयोग जुटाउने लक्ष्य

महापुराणलाई कुनै व्यक्ति वा संस्थाको मात्र नभई पोखरा-५ को साझा कार्यक्रमका रूपमा अघि बढाउनुपर्नेमा जोड दिइयो। प्रत्येक घरधुरी, आमा समूह, टोल विकास संस्था, युवा, ज्येष्ठ नागरिक, सामाजिक संस्था तथा विभिन्न समुदायलाई अभियानमा जोड्नुपर्ने सुझाव सहभागीहरूले दिए।

अर्थ समिति संयोजक पुरुषोत्तम पराजुलीले धार्मिक पर्यटनको केन्द्रका रूपमा सन्तानेश्वरको विकास गर्नुपर्ने बताए। उनले अभियान शुरू भइसकेकाले अब पछि हट्ने अवस्था नरहेको भन्दै सबै घरधुरीलाई समेटेर सहयोग जुटाउनुपर्ने धारणा राखे।

शिक्षासेवी हेरम्ब प्रसाद कोइरालाले सन्तान नहुनेका लागि सन्तानेश्वर मन्दिर पवित्र तीर्थस्थल हुने बताए । यसले मन्दिरको विकासका लागि महायज्ञ अपरिहार्य भएको र आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

शिक्षासेवी शिवप्रसाद भण्डारीले सकेसम्म सबै घरमा अभियानको जानकारी पुर्‍याउनुपर्ने र सानोभन्दा सानो सहयोगलाई पनि सहभागिताका रूपमा लिनुपर्ने बताए। तीन करोड रुपैयाँसम्म सहयोग जुटाउन सकिने उल्लेख गर्दै उनले संकलन प्रक्रियामा पारदर्शिता र सबैको सहभागितालाई प्राथमिकता दिन आग्रह गरे।

समाजसेवी विष्णुप्रसाद पौडेलले कास्कीका दानवीर तथा सफल व्यवसायीको सूची तयार गरी उनीहरूसम्म पुग्नुपर्ने सुझाव दिए। उनले फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएपलगायत सामाजिक सञ्जालको व्यापक प्रयोग गर्नुपर्ने तथा पर्वत, बागलुङ, सल्यानलगायत विभिन्न जिल्लाका समाज र सम्पर्क संस्थालाई समेत अभियानमा जोड्नुपर्ने बताए।

मन्दिरसँगै पूर्वाधार र वातावरण सुधारमा जोड

भेलाका सहभागीले मन्दिर पुनर्निर्माणसँगै आसपासको सडक, फुटपाथ, सरसफाइ, पार्क तथा ट्राफिक व्यवस्थापन सुधार गर्नुपर्ने सुझाव दिएका छन्।

स्थानीय डा. हरिप्रसाद कोइरालाले संस्कार, संस्कृति, प्रकृति तथा ऐतिहासिक विरासत संरक्षण गर्नु सबैको जिम्मेवारी भएको बताउँदै मन्दिर आसपासको चिप्लो र असुरक्षित फुटपाथ सुधार गर्नुपर्ने बताए।

उनले सडक तथा पैदलयात्रीको सुरक्षामा समेत ध्यान दिनुपर्ने सुझाव दिए।

स्थानीय सीता कोइरालाले महापुराणका बेला ट्राफिक व्यवस्थापनसँगै दीर्घकालीन रूपमा सडक सुरक्षा कायम गर्नुपर्ने बताइन्।

स्थानीय प्रकाश पराजुलीले प्रस्याङ बगैँचा पार्कलाई कङ्क्रिट संरचनाले मात्र भरिने नभई प्राकृतिक सौन्दर्यसहित आकर्षक बनाइनुपर्ने बताए। उनले अभियानलाई पैसा संकलनमा मात्र सीमित नगरी सामाजिक सहकार्यको अभियान बनाउनुपर्ने धारणा राखे।

स्थानीय विश्वनाथ पराजुलीले महापुराणलाई पोखरा-५ को साझा कार्यक्रम बनाउनुपर्ने तथा सरसफाइ र वातावरण संरक्षणलाई पनि अभियानसँग जोड्नुपर्ने बताए।

१०८ धारा, शिवलिंगदेखि धर्मशालासम्मका सुझाव

स्थानीय कृष्णप्रसाद शर्मा पौडेलले पुरानो-नयाँ वा व्यक्ति विशेषको विभेद नगरी सबैलाई समेटेर अभियान अघि बढाउनुपर्ने बताए। उनले १०८ पीपल, १०८ तुलसी, १०८ धारा, १०८ शिवलिंग तथा धर्मशालालगायत संरचना निर्माणको योजनामा ध्यान दिनुपर्ने सुझाव दिए।

स्थानीय रामजीप्रसाद कोइरालाले सन्तानेश्वरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्दै दिगो आयआर्जनको स्रोत बनाउने गरी योजना बनाउनुपर्ने बताए।

स्थानीय नारायण शर्मा सुवेदीले सन्तानेश्वरको विकासका लागि दीर्घकालीन ठूलो लगानी आवश्यक रहेको भन्दै मन्दिरलाई आकर्षणको केन्द्र बनाउनुपर्ने धारणा राखे। उनले धर्म, संस्कृति र नैतिक शिक्षालाई संरक्षण गर्दै नयाँ पुस्तालाई समेत अभियानसँग जोड्नुपर्ने बताए।

स्थानीय हरिशचन्द्र अधिकारीले विद्यार्थी तथा बालबालिका केन्द्रित कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझाव दिए। शिवप्रसाद भण्डारीले सन्तानेश्वरलाई पोखरा-५ को इज्जत र गौरवको विषय बनाउँदै इतिहास, संस्कार, संस्कृति तथा नैतिक शिक्षाको संरक्षणमा जोड दिए।

सबैलाई सहज रूपमा सहभागी गराउने प्रतिबद्धता

स्थानीय प्रकाश कोइरालाले सहयोगलाई बाध्यकारी बनाउन नहुने भन्दै दान गर्ने वा नगर्ने आधारमा कसैलाई विभेद नगरी सबैलाई सहज रूपमा सहभागी हुने वातावरण बनाउनुपर्ने बताए।

दुर्गाप्रसाद कोइरालाले निर्माणको शुरूआत भइसकेकाले आधा काम पूरा भएको मान्दै अब अभियानलाई सफल बनाउँदै अघि बढ्नुपर्ने बताए।
मनकामना मन्दिरमा सम्पन्न महापुराणको अनुभव सुनाउँदै अध्यक्ष पुष्पराज बरालले सही व्यवस्थापन, नेतृत्व र उत्साह भए ठूलो धार्मिक कार्यक्रम पनि सफल बनाउन सकिने बताए।

मनकामना मन्दिर विकास समिति सचिव केदारनाथ बरालले समेत अघिल्लो महापुराणमा अपनाइएको व्यवस्थापन, भान्छा, सुरक्षा तथा स्वयंसेवक परिचालनका अनुभव साझा गरे।

सहयोगको शुरूआत

अमेरिका बस्दै आएका डा. राजेन्द्रप्रसाद कोइरालाले सन्तानेश्वर मन्दिर पुनर्निर्माणका लागि ५० हजार रुपैयाँ सहयोग गरेका छन्। उनले उक्त रकम व्यवस्थापन समितिका पदाधिकारीलाई हस्तान्तरण गरिसकेका छन्।

सूर्यचन्द्र विकास समाजकी अध्यक्ष सावित्री कोइरालाले परिवारदेखि नै अभियानमा सहभागिता बढाउनुपर्ने बताउँदै हरितालिका तीजका अवसरमा गीत प्रतियोगितालगायत कार्यक्रममार्फत पनि सहयोग जुटाउन सकिने बताइन्।

महेश्वर दवाडीले सकेसम्म सबै घरमा अभियानको जानकारी पुर्‍याउनुपर्ने र सानोभन्दा सानो सहयोगलाई पनि सहभागिताका रूपमा लिनुपर्ने बताए। तीन करोड रुपैयाँसम्म सहयोग जुटाउन सकिने उल्लेख गर्दै उनले संकलन प्रक्रियामा पारदर्शिता र सबैको सहभागितालाई प्राथमिकता दिन आग्रह गरे।

धार्मिक पर्यटनसँग जोडिने लक्ष्य

आयोजकका अनुसार सन्तानेश्वर मन्दिर पुनर्निर्माणको उद्देश्य केवल धार्मिक संरचना निर्माण गर्नु नभई पोखरा-५ लाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नु हो। मन्दिर, पार्क, पदमार्ग, वातावरण, सडक तथा अन्य पूर्वाधारलाई एकीकृत रूपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना अघि सारिएको छ।

महापुराणलाई सोही अभियानको सुरुवाती आधारका रूपमा लिइएको छ। आयोजक समितिले पोखरा-५ का सम्पूर्ण वडावासी, आमा समूह, टोल विकास संस्था, युवा, ज्येष्ठ नागरिक, सामाजिक संघ-संस्था तथा धर्मप्रेमीलाई सक्रिय सहभागिता र सहयोगका लागि आह्वान गरेको छ।

प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समिति तथा सन्तानेश्वर शिव मन्दिर पुनर्निर्माण व्यवस्थापन समिति अध्यक्ष शिवप्रसाद पराजुलीको अध्यक्षतामा भएको भेलाको सञ्चालन समिति सचिव लक्ष्मणप्रसाद कोइरालाले गरेका थिए भने महापुराण प्रचार-प्रसार समिति संयोजक लक्ष्मण बरालले संयोजन गरेका थिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.