काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बू ओलीले ग्यास अभाव र मूल्यवृद्धिको दीर्घकालीन समाधानका लागि विद्युतीय चुलोलाई प्रोत्साहन गर्न सरकारसँग आग्रह गरेकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा ओलीले विद्युतीय चुलोमा लगाइएको भन्सार तथा विद्युत् महसुलमा लाग्ने मूल्य अभिवृद्धि कर र अन्य कर हटाउन सरकारसँग माग गरिन्।
ग्यासको समस्या नयाँ नभएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि सरकारले विद्युतीय उपकरणको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो।
ओलीले आन्दोलनरत इन्टर्न चिकित्सकको माग तत्काल सम्बोधन गर्न, माइतीघर मण्डलामा विभिन्न माग राखेर आन्दोलनरत नागरिकका समस्या समाधान गर्न तथा राइड सेयरिङ सेवामा लगाइएको सात प्रतिशत कर पुनरावलोकन गर्न पनि सरकारसँग आग्रह गरिन्।
राजदूत नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउन सर्टलिस्ट र छनोटका आधार सार्वजनिक गर्नुपर्ने माग गर्दै ओलीले प्रधानमन्त्रीले नेपाल-भारत सीमासम्बन्धी अभिव्यक्ति सच्याएर संसद्को अभिलेखबाट हटाए संसद्मा भइरहेको विरोध पनि अन्त्य हुने बताइन्।




