पोखरा । पोखरा र इजरायलबीच सिधा हवाई उडान सञ्चालनको सम्भावनाबारे छलफल भएको छ।
नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बास र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबीच बुधबार भएको शिष्टाचार भेटवार्तामा पर्यटन तथा सांस्कृतिक आदान-प्रदानसँगै हवाई सम्पर्क विस्तारलाई प्राथमिकताका साथ उठाइएको हो।
भेटमा नगर प्रमुख आचार्यले पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप प्रवर्द्धन गर्न इजरायलसँग पर्यटन, संस्कृति र हवाई सम्पर्कका क्षेत्रमा सहकार्य आवश्यक रहेको बताए।
उनले सिधा हवाई उडान सञ्चालन हुन सके दुवै देशबीचको पर्यटन, लगानी, व्यापार तथा जनस्तरको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
भेटवार्ताका क्रममा नेपाल–इजरायल सम्बन्ध, पर्यटन, कृषि, प्रविधि, रोजगारी तथा प्राविधिक ज्ञान र सीप आदान-प्रदानका विषयमा पनि छलफल भयो।
महानगरपालिकाका कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता अभिवृद्धिका लागि इजरायलसँग सहकार्य विस्तार गर्न आवश्यक समन्वय गरिदिन आचार्यले राजदूतसँग आग्रह गरे।
राजदूत श्मुलिक एरी बासले इजरायलको आधुनिक कृषि प्रणालीअन्तर्गत सञ्चालन भइरहेको ‘सिक्दै कमाउने’ कार्यक्रममार्फत नेपाली युवाले ज्ञान, सीप र अनुभव हासिल गरिरहेको बताए। उनले प्रविधिमैत्री कृषि प्रणाली तथा अन्य क्षेत्रमा समेत नेपालसँग सहकार्य विस्तार गर्न सकिने धारणा व्यक्त गरे।
भेटवार्तामा नगर उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी तथा महानगरपालिकाको वैदेशिक विभाग समन्वय प्रमुख सुवास ढुंगानालगायत सहभागी थिए ।





