पोखरा महानगरपालिकाले महानगर क्षेत्रभित्रका सडक, गल्ली तथा घर नम्बरलाई डिजिटल प्रणालीमा व्यवस्थापन गर्ने तयारी थालेको छ। यसका लागि जिआइएस (GIS) आधारित स्ट्रिट एन्ड बिल्डिङ एड्रेसिङ सिस्टम कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको छ।
नगर प्रमुख धनराज आचार्यले पोखराका सडक, गल्ली तथा घरहरूको पहिचानलाई एकीकृत र व्यवस्थित बनाउन डिजिटल ठेगाना प्रणाली आवश्यक रहेको बताए। उनका अनुसार यस प्रणालीले नागरिक, सेवा प्रदायक तथा आपत्कालीन सेवाका निकायलाई आवश्यक स्थान पहिचान गर्न सहज बनाउनेछ।
उनले सडक र घर नम्बरलाई डिजिटल रूपमा व्यवस्थापन गर्न सके सेवा प्रवाह थप प्रभावकारी हुने तथा महानगरको भौगोलिक र भौतिक संरचनासम्बन्धी विवरण पनि व्यवस्थित हुने धारणा राखे।
महानगरपालिकाका अनुसार स्ट्रिट तथा घर नम्बरिङ प्रणाली कार्यान्वयन भएपछि घर तथा स्थानको पहिचान, ठेगाना व्यवस्थापन, विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा विभिन्न तथ्याङ्कलाई एकीकृत गर्न सहज हुने अपेक्षा गरिएको छ।
छलफलमा डिजिटल ठेगाना प्रणालीलाई महानगरपालिकाको विद्यमान सूचना प्रणालीसँग आबद्ध गर्दै पोखराका सबै क्षेत्रलाई समेट्ने गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल भएको जनाइएको छ।




