काठमाडौँ। देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार झापाको कनकाई नगरपालिका-४ कोटीहोममा पिकअपको ठक्करबाट पैदलयात्री ७५ वर्षीय प्रल्हाद शिवाकोटीको उपचारका क्रममा मृत्यु भएको हो।
मोरङको मिक्लाजुङ गाउँपालिका-३ मा स्कुटर दुर्घटनामा घाइते भएकी २५ वर्षीया विनिता थम्परा लिम्बुको घर लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
सर्लाहीको हरिवन नगरपालिका-४ गणेशचोकमा ट्रकको ठक्करबाट साइकलयात्री हरिपुर नगरपालिका-५ निवासी करिब ५० वर्षीय पंचलाल चौधरीको घटनास्थलमै मृत्यु भएको छ।
महोत्तरीको गौशाला नगरपालिका-५ मा मोटरसाइकलको ठक्करबाट घाइते भएकी करिब ८० वर्षीया खैतुन खातुनको उपचारका क्रममा मृत्यु भएको छ।
सप्तरीको महादेवा गाउँपालिका-१ मा मोटरसाइकल दुर्घटनामा चालक ३५ वर्षीय सन्तोष राम र पछाडि सवार ४५ वर्षीय शंकर रामको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका-२३ मा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा घाइते भएका १२ वर्षीय कनाई महतोको उपचारका क्रममा मृत्यु भएको छ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मा स्कूटर दुर्घटनामा घाइते भएका व्यास नगरपालिका-१ निवासी ४६ वर्षीय शम्भु न्यौपानेको उपचारका क्रममा मृत्यु भएको छ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ सिद्धिपुरमा मोटरसाइकल दुर्घटनामा घाइते भएका २५ वर्षीय मुरेली यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
सबै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





