काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। सोमबार बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ५ रुपैयाँ मूल्य बढाइएको हो।
नयाँ मूल्यअनुसार काठमाडौं, पोखरा र दिपायलसहितका तेस्रो वर्गका क्षेत्रमा पेट्रोल र डिजेल दुवैको मूल्य प्रतिलिटर २०० रुपैयाँ पुगेको छ। यसअघि पेट्रोल १९७ रुपैयाँ र डिजेल १९५ रुपैयाँमा बिक्री हुँदै आएको थियो।
निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएर २४९ रुपैयाँ कायम गरेको छ।
अन्तर्राष्ट्रिय हवाई इन्धनमा काठमाडौंका लागि प्रतिकिलोलिटर १३१ अमेरिकी डलर वृद्धि गरिएको छ भने पोखरा र भैरहवामा नाफा–नोक्सानरहित मूल्यमा बिक्री गर्ने निर्णय गरिएको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिग्यास सिलिन्डर दुई हजार ६० रुपैयाँ नै यथावत् राखिएको छ।
भारतीय आयल कर्पोरेसनबाट पेट्रोल र डिजेलको खरिद मूल्य उल्लेख्य रूपमा बढेर आए पनि उपभोक्तालाई कम भार पर्ने गरी सीमित मात्र मूल्य समायोजन गरिएको निगमले जनाएको छ।




