दाङ। दाङको राप्ती गाउँपालिका-४ गोपीनालास्थित पूर्व-पश्चिम राजमार्गमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिक घाइते भएका छन्।
प्रहरीका अनुसार भारतको सिद्धार्थनगरबाट दाङको घोराहीतर्फ आउँदै गरेको यूपी ४४ एएस ८१२४ नम्बरको कार चालकको नियन्त्रण गुमाउँदा सडकबाट करिब पाँच फिट तल खसेर करिब ५० मिटर घिस्रिँदै दुर्घटना भएको हो।
दुर्घटनामा कार चालक भारतको सिद्धार्थनगर नगरपालिका-६ निवासी २५ वर्षीय रवि महमद, उनकी ३४ वर्षीया श्रीमती फराह सेख, छ वर्षीया छोरी रिफा सेख तथा ३२ वर्षीय सनि कुमार घाइते भएका छन्।
घाइते चारै जनालाई उपचारका लागि राप्ती आधारभूत अस्पताल, सिसहनियामा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको छ।




