Nidan Media

हिन्दू मोर्चा र सरकारबीच १३ बुँदे सहमति, आन्दोलन फिर्ता

जनकपुर। हिन्दूवादी संगठनहरूको संयुक्त मोर्चा ‘हिन्दू मोर्चा’ र नेपाल सरकारबीच १३ बुँदे सहमति भएको छ।

शनिबार जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा भएको दुई चरणको वार्तापछि सहमति जुटेसँगै मोर्चाले आफ्ना सबै आन्दोलन तथा विरोधका कार्यक्रम फिर्ता लिएको छ।

सुनसरीको देवानगञ्ज घटनापछि धनुषालगायत क्षेत्रमा जारी विरोध प्रदर्शन रोक्न गृहमन्त्रीसहितको सरकारी टोली वार्ताका लागि जनकपुर पुगेको थियो।

सहमतिअनुसार दिगो शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विभिन्न विषयमा सरकारले आवश्यक प्रक्रिया अघि बढाउने भएको छ।

मोर्चाले उठाएको हिन्दू राष्ट्रसम्बन्धी मागमा तीन महिनाभित्र सर्वदलीय तथा सर्वपक्षीय छलफल प्रक्रिया शुरू गर्ने सहमति भएको छ।

यस्तै धार्मिक कार्यक्रममा घातक हतियार प्रदर्शन नियन्त्रण गर्ने, धार्मिक स्थलमा ध्वनि विस्तारक उपकरणको प्रयोग व्यवस्थापन गर्ने, धार्मिक स्थलमा बस्ने व्यक्तिहरूको अभिलेखीकरण गर्ने, सामाजिक सञ्जालमार्फत धार्मिक वा साम्प्रदायिक द्वेष फैलाउनेमाथि कानूनी कारबाही गर्ने, देवानगञ्ज घटनापछि पक्राउ परेका व्यक्तिको मुद्दा पुनरावलोकन गर्ने तथा घाइतेको उपचारको व्यवस्था गर्ने सहमति भएको छ।

त्यसैगरी धार्मिक आयोगहरूको पुनरावलोकन, नागरिकताको छानबिन, धार्मिक संस्थामा हुने विदेशी लगानीको अनुसन्धान, जघन्य अपराधका दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउनेलगायत विषय पनि सहमतिमा समेटिएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.