काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा ज्यान गुमाएका विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित सम्पूर्ण आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।
फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री साहले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन्।
उनले हिमालले धेरैलाई शिखरको गौरव दिलाउने र कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गर्दै आरोहीहरू आफ्नो साहस, समर्पण र योगदानका कारण इतिहासमा सधैँ अमर रहने बताए।
प्रधानमन्त्री शाहले विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली र चार विदेशी आरोहीको दुःखद निधनले आफू स्तब्ध भएको उल्लेख गरे।
उनले दिवंगत आरोहीहरूको भौतिक यात्रामात्र टुंगिएको भए पनि उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणादायी र जीवित रहने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री शाहले सम्पूर्ण दिवंगत आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति हार्दिक समवेदना पनि व्यक्त गरे।
पाकिस्तानको ‘ब्रड पिक’ हिमालको हिमपहिरोमा विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) सहित अन्य १० जना बेपत्ता भएका थिए ।
बेपत्ता १० मध्ये छ जना नेपाली पर्वतारोही रहेका थिए । चार जनाको शव भने शुक्रबार नै फेला परेको थियो ।
यस्तो छ प्रधानमन्त्री शाहको फेसबुक स्टाटस्
आरोहण केवल शिखर चुम्ने यात्रा होइन । यो साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति हो । हिमालले धेरैलाई शिखरको गौरव दिन्छ, कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर पनि राख्छ । तर, हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहन्छन् ।
विश्वको १२औँ अग्लो हिमाल, पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो ‘ब्रोड पिक’मा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ) सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूको दुःखद निधनले स्तब्ध बनाएको छ ।
निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ ।
सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली । शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना ।




