काठमाडौँ । ‘जीवनको दिगो सुरुआतका लागि स्तनपानः प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाऔँ’ भन्ने नारासहित विश्व स्तनपान सप्ताह शनिबारदेखि विश्वभर मनाउन थालिएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका संस्थाको सहकार्यमा प्रत्येक वर्ष अगष्टको पहिलो सातामा यो सप्ताह मनाइन्छ।
यस वर्षको अभियानले स्तनपान प्रवर्द्धनका प्रभावकारी अभ्यासलाई थप सुदृढ बनाउँदै आमा र नवजात शिशुलाई स्वास्थ्य प्रणाली, समुदाय, कार्यस्थल तथा सरकारी नीतिमार्फत आवश्यक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिएको छ।
डब्ल्यूएचओका अनुसार विश्वका धेरै मुलुकमा अझै पनि आमा र परिवारले स्तनपानसम्बन्धी आवश्यक स्वास्थ्य सेवा, परामर्श तथा सहयोग सहज रूपमा प्राप्त गर्न सकेका छैनन्। यद्यपि, स्तनपान शिशुको स्वास्थ्य संरक्षण गर्ने सबैभन्दा प्रभावकारी उपायमध्ये एक मानिन्छ। यसले शिशुलाई आवश्यक पोषण उपलब्ध गराउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने, गम्भीर रोगबाट जोगाउने र मस्तिष्कको विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ।
स्तनपानले आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने डब्ल्यूएचओले जनाएको छ। नियमित स्तनपानले स्तन तथा डिम्बाशयको क्यान्सर र ‘टाइप–२’ मधुमेहजस्ता नसर्ने रोगको जोखिम कम गर्न मद्दत पुग्ने उल्लेख गरिएको छ।
विश्वव्यापी रूपमा स्तनपानको दरमा सुधार देखिएको छ। सन् २०१२ मा जन्मदेखि छ महिनासम्म पूर्ण स्तनपान गराइने शिशुको अनुपात करिब ३७ प्रतिशत रहेकामा हाल ४७ प्रतिशतभन्दा माथि पुगेको छ। त्यस्तै, दुई वर्षसम्म स्तनपान गराइने बालबालिकाको अनुपात पछिल्ला पाँच वर्षमा ३८ प्रतिशतबाट ५० प्रतिशत पुगेको छ। डब्ल्यूएचओ र युनिसेफका अनुसार यी उपलब्धिले आमा र परिवारलाई लक्षित नीति तथा कार्यक्रममा गरिएको लगानी प्रभावकारी भएको देखाउँछ।
तर धेरै मुलुकमा प्रगति अझै असमान रहेको, स्तनपानसम्बन्धी सेवा पर्याप्त विस्तार हुन नसकेको तथा विशेषगरी न्यून आय भएका, द्वन्द्व प्रभावित र मानवीय सङ्कट झेलिरहेका क्षेत्रमा सेवाको गुणस्तर कमजोर रहेको जनाइएको छ।
डब्ल्यूएचओ र युनिसेफले दक्ष स्तनपान परामर्श, समुदायमा आधारित सहयोग सेवा, सशुल्क प्रसूति बिदा, स्तनपानमैत्री कार्यस्थल र आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने व्यावसायिक दूधको अनियन्त्रित प्रवर्द्धनमाथि प्रभावकारी नियन्त्रणलाई स्तनपान प्रवर्द्धनका सबैभन्दा प्रभावकारी र लागत–उपयुक्त उपायका रूपमा उल्लेख गरेका छन्।
यस्ता कार्यक्रमको विस्तार गर्न सके प्रत्येक वर्ष करिब चार लाख बालबालिका र एक लाख ४० हजार आमाको ज्यान जोगाउन सकिने डब्ल्यूएचओको अनुमान छ। साथै, स्तनपान प्रवर्द्धनमा गरिएको प्रत्येक एक अमेरिकी डलर बराबरको लगानीबाट स्वास्थ्य खर्चमा कमी, बालबालिकाको बौद्धिक विकास, शैक्षिक उपलब्धि तथा भविष्यको आम्दानीमा सुधारमार्फत करिब ५९ अमेरिकी डलर बराबरको आर्थिक प्रतिफल प्राप्त हुने आकलन गरिएको छ।
यस अवसरमा डब्ल्यूएचओ र युनिसेफले मातृ तथा नवजात शिशुका लागि गुणस्तरीय स्तनपान सेवा विस्तार, समुदायमा आधारित परामर्श कार्यक्रम सुदृढीकरण, आमाको दूधको विकल्पका उत्पादनसम्बन्धी अन्तरराष्ट्रिय आचारसंहिताको प्रभावकारी कार्यान्वयन, सशुल्क प्रसूति बिदा, स्तनपानमैत्री कार्यस्थल सुनिश्चित गर्न तथा गर्भावस्था, प्रसूति र प्रसूतिपछिका स्वास्थ्य सेवासँग स्तनपान प्रवर्द्धनलाई एकीकृत गर्न सबै देशलाई आग्रह गरेका छन्।
डब्ल्यूएचओले सन् २०१८ मा विश्व स्वास्थ्यसभाले विश्व स्तनपान सप्ताहलाई स्वास्थ्य प्रवर्द्धनको महत्वपूर्ण रणनीतिका रूपमा अनुमोदन गरेको स्मरण गराउँदै प्रत्येक बालबालिकाले जीवनको उत्कृष्ट सुरुआत पाउने र प्रत्येक आमाले आवश्यक सहयोग तथा सेवा प्राप्त गर्ने वातावरण निर्माणका लागि सरकार, स्वास्थ्य संस्था, रोजगारदाता, समुदाय र परिवारको साझा प्रतिबद्धता आवश्यक रहेको जनाएको छ।





