काठमाडौँ । स्ट्रेट अफ होर्मुज हुँदै जहाजहरूको आवतजावत उल्लेखनीय रूपमा बढेको छ।
दुई साताभन्दा बढी समयपछि एलएनजी (तरलीकृत प्राकृतिक ग्यास) ट्यांकरहरूको आवागमन पुनः शुरू भएसँगै जुलाई २९ मा उक्त जलमार्ग हुँदै २८ वटा जहाज गुज्रिएका छन्, जुन जुलाई १४ पछिकै उच्च संख्या हो।
एस एन्ड पी ग्लोबलका अनुसार ती जहाजमध्ये करिब ६० प्रतिशत इरानसँग सम्बन्धित थिए।
सात ओटा जहाजले स्वचालित पहिचान प्रणाली बन्द गरेर यात्रा गरेका थिए भने जहाजहरूमा बल्क क्यारियर, उत्पादन ट्यांकर, एलएनजी तथा एलपीजी ट्यांकर, कन्टेनर र कार्गो जहाजसमेत रहेका थिए।
प्रतिवेदनअनुसार अमेरिकी नौसैनिक नाकाबन्दी क्षेत्र हुँदै आवागमन पनि बढेको छ। जुलाई २९ मा त्यहाँ ३९ वटा जहाज सञ्चालनमा रहेका थिए, जुन अघिल्लो दिन २५ ओटा मात्र थियो।
बाब अल-मन्देब जलडमरूमध्य हुँदै हुने जहाज आवागमनमा पनि वृद्धि भएको प्रतिवेदनले जनाएको छ। हाल मध्यपूर्वबाट सुएज नहर हुँदै तेल ढुवानी गर्ने जहाजहरूको संख्या पनि बढ्दै गएको एस एन्ड पी ग्लोबलले उल्लेख गरेको छ।




