Nidan Media

देवानगञ्ज घटनापछि सरकार-पीडित परिवारबीच ६ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ। सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ६ बुँदे सहमति भएको छ।

साउन १४ गते भएको सम्झौताअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया तत्काल अघि बढाइने सहमतिमा उल्लेख छ।

सहमतिअनुसार देवानगञ्ज-३ स्थित मदरसाको कानूनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल शुरू गरिनेछ।

साथै, प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने प्रतिबद्धता पनि सरकारले जनाएको छ।

घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेश गर्ने प्रतिवेदनका सुझाव र सिफारिसहरू कानूनबमोजिम यथाशीघ्र कार्यान्वयन गरिने तथा मृतकद्वयको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गरिने सहमति भएको छ।

सम्झौतामा गृहमन्त्री सुधन गुरुङले सरकारको तर्फबाट तथा मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताका अभिभावकहरूले पीडित परिवारको तर्फबाट हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार मृतकद्वयको अन्त्येष्टि साउन १५ गते दिउँसो २ बजे गरिने तय भएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.