काठमाडौं। प्रधानमन्त्री बालेन शाहले सुनसरी घटनापछिको विकसित परिस्थितिलाई लक्षित गर्दै राष्ट्रका नाममा सम्बोधन गरेका छन्।
बिहीबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट देशबासीलाई सम्बोधन गर्दै उनले देशमा शान्ति, सद्भाव र अमनचयन कायम राख्न सबैलाई संयम अपनाउन आग्रह गरेका हुन्।
प्रधानमन्त्री शाहले देशको अवस्था क्रमशः सामान्य बन्दै गएको उल्लेख गर्दै शान्ति कायम राख्नु सबै नागरिकको साझा दायित्व भएको बताए। घटनाको यथार्थ बुझ्न गृहमन्त्री सुधन गुरुङ विराटनगर पुगिसकेको जानकारी दिँदै उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरे।
साथै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए।
उनका अनुसार घटनापछिको अवस्था सामान्य बनाउन केन्द्रीय स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहमा जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरु, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वसँग निरन्तर संवाद र समन्वय भइरहेको पनि उनले जानकारी दिए।
प्रधानमन्त्री शाहले घटनाको निष्पक्ष छानबिनका लागि समिति गठन भइसकेको उल्लेख गर्दै दोषी जोसुकै भए पनि कानूनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे।
सम्बोधनका क्रममा उनले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह तथा समुदायबीच वैमनस्य फैलाउने सामग्री प्रचार–प्रसार नगर्न सबैलाई आग्रह गरे।
सरकारी निकायबाट जारी गरिएका आधिकारिक सूचनामाथि मात्र विश्वास गर्न अनुरोध गर्दै उनले सामाजिक सद्भाव जोगाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए।
प्रधानमन्त्री शाहले प्रत्येक नागरिकको जीउधनको सुरक्षा, सामाजिक सद्भावको संरक्षण र देशमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै आगामी दिनमा सरकार अझ बढी सतर्क, जिम्मेवार र प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरे।




