Nidan Media

सरकार-चिकित्सक पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले नारायणी अस्पतालमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै नेपाल चिकित्सक संघसँग विस्तृत छलफलपछि पाँच बुँदे सहमति भएको बताएकी छन्।

सामाजिक सञ्जालमार्फत उनले सहमतिअनुसार स्वास्थ्यकर्मीमाथि हुने हिंसा र स्वास्थ्य संस्थामाथिका आक्रमणविरुद्ध कानूनी कारबाहीलाई थप प्रभावकारी बनाइने, आवश्यक कानूनी संशोधनको प्रक्रिया तत्काल अघि बढाइने तथा स्वास्थ्य सेवा सुरक्षित र निर्बाध बनाउन सम्बन्धित निकायबीच समन्वय गरिने जानकारी दिइन्।

उनले सहमतिसँगै नेपाल चिकित्सक संघले आन्दोलन स्थगित गरी नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेकोमा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति धन्यवाद व्यक्त गरिन्।

मन्त्री मेहताले नागरिकले सहज, सुरक्षित र गुणस्तरीय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको सुरक्षा र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक कदम चालिने बताएकी छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.