सुर्खेत। सुर्खेतको लेकबेशी नगरपालिका-५ र ६ को सिमानास्थित हलकन्डरा क्षेत्रमा यात्रुबाहक जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
डाँडागाउँबाट दशरथपुरतर्फ आउँदै गरेको भे१ज ५४० नम्बरको मुस्ताङ जीप उकालोमा आफैं अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।
दुर्घटनामा घाइते हुनेहरूमा चालक लेकबेशी-४ निवासी २३ वर्षीय दिपेश पुन, लेकबेशी-६ निवासी २२ वर्षीया सुष्मा कार्की, ३ वर्षीय क्रिजन कार्की, २६ वर्षीया तिल्सरा सिरिस, करिब ७० वर्षीया अमृता कार्की, करिव ७० वर्षीया खगिसरा विक, सात वर्षीय दर्शन विक, २७ वर्षीया दीलमाया विक, करिब २८ वर्षीया समीक्षा विक, ६० वर्षीया आइती कामी, २८ वर्षीया लक्ष्मी विक, ३१ वर्षीया रीमा विक, २५ वर्षीया जुना सुनार, २३ वर्षीया मीना परियार र करिब २८ वर्षीया गीता सुनार रहेका छन्।
प्रहरीका अनुसार सुष्मा कार्कीको अवस्था गम्भीर रहेको छ। अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको छ।
घाइतेमध्ये दिपेश पुन, सुष्मा कार्की, क्रिजन कार्की, तिल्सरा सिरिस, अमृता कार्की, खगीसरा विक, दर्शन विक, दीलमाया विक, समीक्षा विक, आइती कामी, लक्ष्मी विक र रीमा विकको माया नर्सिङ होम सुर्खेतमा उपचार भइरहेको छ।
त्यसैगरी जुना सुनार, मीना परियार र गीता सुनारको दशरथपुर नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाग्रस्त जीपलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।




