काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा शुरू भएको त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको पहिलो खेलमा नेपालले निराशाजनक प्रदर्शन गर्दै नामिबियासँग ८ विकेटको सहज हार बेहोरेको छ।
मंगलबार राति भएको खेलमा नेपालको कमजोर ब्याटिङ पूर्ण रूपमा उजागर भयो। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४६.५ ओभरमै १५७ रनमा समेटियो।
कप्तान रोहित पौडेलले ३१ तथा दीपेन्द्रसिंह ऐरीले ३० रन बनाए पनि अन्य ब्याटरले जिम्मेवारी लिन नसक्दा प्रतिस्पर्धात्मक लक्ष्य खडा हुन सकेन। रोहित र दीपेन्द्रबीच चौथो विकेटका लागि ५३ रनको साझेदारी भए पनि त्यसपछि नेपालको इनिङ्स फेरि धराशायी बन्यो।
१५८ रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले कुनै दबाब महसुस नगरी ३७.३ ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
जान फ्रायलिंकले अविजित ७७ रनको उत्कृष्ट इनिङ्स खेले भने माइकल भान लिङ्गेनले ५१ रन जोड्दै जितको आधार तयार पारे। जान निकोल लफ्टी इटन १७ रनमा अविजित रहे।
नेपालका लागि नन्दन यादव र रोहित पौडेलले १-१ विकेट लिए पनि बलरहरूले सानो लक्ष्य जोगाउन सकेनन्।
खेलको सबैभन्दा ठूलो अन्तर सिर्जना गर्ने खेलाडी बने जेजे स्मिथ। उनले ९.५ ओभरमा मात्र ३६ रन खर्चेर ६ विकेट लिँदै नेपालको ब्याटिङ लाइनअप तहसनहस बनाए। बर्नार्ड स्कोल्ज र ज्याक ब्रासेलले समान २-२ विकेट लिए।
यस जितसँगै नामिबिया २९ खेलबाट २४ अंक जोड्दै लिग-२ को अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ। नेपालको पनि समान २४ अंक भए पनि राम्रो नेट रनरेटका कारण नेपाल अझै नामिबियाभन्दा माथि रहेको छ।
अब नेपालले बिहीबार घरेलु टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलको कमजोर ब्याटिङ दोहोरिए नेपालको लिग-२ यात्रा थप कठिन बन्ने संकेत देखिएको छ।





