पोखरा। तनहुँको व्यास नगरपालिका-७ स्थित कलेस्ती पुलमा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपराह्न करिब ३ः१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पुलमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनालगत्तै प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेको नेतृत्वमा पुगेको टोलीले उद्धार गरी घाइतेलाई रत्नहरी अस्पताल तनहुँ पठाएको थियो।
दुर्घटनामा व्यास-२ निवासी २६ वर्षीय चालक शम्शेर परियार गम्भीर घाइते भएका छन्। उनको बायाँ खुट्टा, छाती, घाँटी र टाउकोमा चोट लागेको छ।
अन्य घाइतेमा व्यास-४ की ६० वर्षीया श्रीमाया परियार, लमजुङ मध्यनेपाल-१ की ३५ वर्षीया शान्ता गौतम, मध्यनेपाल-४ की ३२ वर्षीया निरा गौतम र २९ वर्षीया सुस्मिता साही, व्यास-११ थुम्कीकी ६० वर्षीया चन्द्रमाया गुरुङ, व्यास-२ की ४७ वर्षीया अनिता गुरुङ र ४९ वर्षीया बिन्दु गुरुङ, कास्की रुपा गाउँपालिका-१ की ५० वर्षीया स्वस्तिकला खनाल, व्यास-६ की २७ वर्षीया सुजिता पौडेल, व्यास-१ की ८ वर्षीया सान्भी गिरी, ४० वर्षीया दिपा खान, ५१ वर्षीया सिता नेपाली, ३५ वर्षीया हिरा मल्ल र ४४ वर्षीया नुनिमाया थापा रहेका छन्। प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य छ।
बसमा २५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि सडक सञ्चालनमा आइसकेको छ भने दुर्घटनाग्रस्त बस हटाउने काम भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




