काठमााडौँ। फिफा विश्वकप २०२६ को प्रतिष्ठित ट्रफीका लागि सोमबार स्पेन र साविक विजेता अर्जेन्टिनाबीच ऐतिहासिक फाइनल हुँदैछ।
विश्वकपको मञ्चमा यी दुई टोली ६० वर्षपछि फेरि आमनेसामने हुन लागेका हुन्। सन् १९६६ को विश्वकपमा भएको भेटमा अर्जेन्टिनाले स्पेनलाई २-१ ले पराजित गरेको थियो।
न्युयोर्क–न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा नेपाली समयअनुसार सोमबार बिहान १२ः४५ बजे सुरु हुने यो महाभिडन्त फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक फाइनलमध्ये एक मानिएको छ।
यस फाइनलको सबैभन्दा ठूलो आकर्षण अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र स्पेनका १९ वर्षीय युवा स्टार लामिन यमालबीचको प्रतिस्पर्धा हुनेछ।
सन् २००७ मा बार्सिलोनाको एक च्यारिटी फोटोसुटका क्रममा २० वर्षीय मेस्सीले तीन महिनाका यमाललाई काखमा लिएर नुहाइदिएको तस्बिर सन् २०२४ मा भाइरल बनेको थियो। अब त्यही बालक यमाल पहिलो पटक विश्वकपको फाइनलमा आफ्नै प्रेरणाका रूपमा हेरिएका मेस्सीविरुद्ध उपाधिका लागि मैदान उत्रनेछन्।
स्पेन सन् २०१० पछि दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यमा छ भने अर्जेन्टिना चौथो पटक विश्वकप जित्दै लगातार दोस्रो उपाधि हात पार्ने इतिहास रच्न चाहन्छ। यदि अर्जेन्टिना विजयी भएमा इटाली र ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने विश्वकै तेस्रो टोली बन्नेछ।
मेस्सी यस विश्वकपमा ८ गोल र ४ असिस्टसहित गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन्। स्पेनका मिकेल ओयारजाबाल ५ गोलसहित टोलीका शीर्ष स्कोरर हुन् भने लामिन यमालले प्रतियोगितामा ३० सफल ड्रिबल गर्दै आफूलाई सबैभन्दा खतरनाक विङ्गरका रूपमा स्थापित गरेका छन्।
यो फाइनल स्पेनको बलियो रक्षापङ्क्ति र अर्जेन्टिनाको घातक आक्रमणबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको छ। प्रशिक्षक लुइस डे ला फुएन्तेको स्पेनले प्रतियोगिताभर केवल एक गोल मात्र व्यहोरेको छ। गोलकिपर उनाई सिमोनले ६ क्लिन सिट राखेका छन् भने कप्तान रोड्रीले ६४८ सफल पास पूरा गर्दै उत्कृष्ट लय कायम गरेका छन्।
उता अर्जेन्टिना लगातार सात खेल जित्दै र प्रतियोगितामा सर्वाधिक १९ गोल गर्दै फाइनल पुगेको हो। इजिप्ट र इङ्गल्याण्डविरुद्ध पछि परेर पनि खेल उल्टाउँदै जित निकालेको अर्जेन्टिनाले आफ्नो च्याम्पियन मानसिकता प्रदर्शन गरिसकेको छ।
फाइनलमा स्पेनका रोड्री र मार्क कुकुरेलामाथि मेस्सीलाई रोक्ने ठूलो जिम्मेवारी रहनेछ भने अर्जेन्टिनाको आक्रमण मेस्सी र जुलियन अल्भारेजमा केन्द्रित हुनेछ।
यो फाइनल केवल विश्व च्याम्पियनको टुंगो लगाउने खेल मात्र होइन, दुई पुस्ताका दुई असाधारण प्रतिभाबीचको ऐतिहासिक भेट पनि हुनेछ। एकातिर करियरको अन्तिम विश्वकप जितेर इतिहासमा थप एउटा अध्याय लेख्न चाहने मेस्सी छन् भने अर्कोतर्फ लामिन यमाल नयाँ पुस्ताको नेतृत्व गर्दै पहिलो विश्वकप उपाधि जित्ने सपना बोकेका छन्। त्यसैले विश्व फुटबलका करोडौं समर्थकको नजर यही महाभिडन्तमा केन्द्रित हुनेछ।




