Nidan Media

पार्टीको वैधानिक संरचनामै युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको वैधानिक संरचनामै युवाको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गरिएको बताएका छन्।

४४औँ बीपी स्मृति दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेसले प्रत्येक वडाबाट चयन हुने प्रतिनिधिमध्ये ३० वर्षमुनिका युवाको अनिवार्य सहभागिता रहने व्यवस्था गरेको जानकारी दिए।

उनका अनुसार सबै निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना महाधिवेशन प्रतिनिधि रहने गरी पार्टीको विधान संशोधन गरिएको छ।

थापाले महाधिवेशन प्रतिनिधिको संख्या २५ बाट बढाएर ३१ पुर्‍याइएको र थपिएका स्थानमार्फत युवालाई अवसर प्रदान गरिएको बताए। यस व्यवस्थाले नयाँ पुस्तालाई पार्टीको नेतृत्व तहसम्म पुग्ने बाटो खुला गर्ने उनको भनाइ थियो।

उनले केन्द्रीय समितिमा पनि नयाँ पुस्ताका नेताको सहभागिता सुनिश्चित गर्न आवश्यक व्यवस्था गरिएको उल्लेख गर्दै पार्टीले अनुभवी नेतृत्वको सम्मानसँगै नयाँ पुस्तालाई पनि जिम्मेवारी दिने नीति अपनाएको बताए।

थापाका अनुसार नेपाली कांग्रेसमा अहिले चार पुस्ताका नेता–कार्यकर्ता एकैसाथ सक्रिय छन्। त्यसैले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा दुवैलाई समेटेर अघि बढ्नु पार्टीको आवश्यकता भएको उनले बताए।

कांग्रेस देशभरका सबै जातजाति, भाषा, संस्कृति र समुदायलाई जोड्ने राष्ट्रिय राजनीतिक शक्ति भएको उल्लेख गर्दै अब सबै पुस्तालाई पनि एउटै साझा राजनीतिक मञ्चमा जोड्ने भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए।

थापाले नेपाली कांग्रेसलाई समावेशी, पुस्ताबीचको सहकार्यलाई प्राथमिकता दिने र नयाँ नेतृत्वलाई अवसर प्रदान गर्ने पार्टीका रूपमा थप सुदृढ बनाउन आफूहरू प्रतिबद्ध रहेको बताए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.