काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले फिफा विश्वकप २०२६ का अन्तिम खेल नेपाल टेलिभिजनको एनटीभी प्लस मार्फत निःशुल्क हेर्न सकिने जानकारी दिएका छन्।
मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै विश्वकपको तेस्रो स्थानका लागि हुने इंग्ल्यान्ड-फ्रान्स तथा फाइनलमा अर्जेन्टिना-स्पेन बीचको खेल एनटीभी प्लसबाट कुनै अतिरिक्त शुल्क बिना प्रत्यक्ष प्रसारण गरिने बताएका हुन्।
यसअघि नेपाली दर्शकले विश्वकपका खेल हेर्न हिमालय स्पोर्ट्स टेलिभिजनमार्फत ९९९ रुपैयाँ शुल्क तिरेर सदस्यता लिनुपर्ने व्यवस्था थियो।
त्यसैगरी, ओटीटी प्लेटफर्म डीगो एपले पनि विभिन्न सदस्यता योजनामार्फत विश्वकपका खेल उपलब्ध गराउँदै आएको थियो।
सरकारको यो निर्णयसँगै अब विश्वकप २०२६ का अन्तिम दुई महत्वपूर्ण खेल नेपाली दर्शकले एनटीभी प्लस मार्फत निःशुल्क हेर्न पाउने भएका छन्।
यसबाट शुल्क तिर्न नसकेका वा सदस्यता नलिएका दर्शकले पनि विश्वकपको रोमाञ्च सहज रूपमा हेर्न सक्ने अपेक्षा गरिएको छ।




