Nidan Media

पोखरामा श्रृंखलाबद्ध चोरी गिरोहः चार विदेशीसहित नौ पक्राउ

पोखरा। पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा श्रृंखलाबद्ध रूपमा चोरीका घटना गराउँदै आएको चार विदेशी नागरिकसहित नौ जनाको गिरोहलाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकामाथि चोरी तथा डाँकासम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पछिल्लो समय पोखराका विभिन्न स्थानमा घर तथा कोठामा चोरीका घटना बढेपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले सूक्ष्म अनुसन्धानका क्रममा गिरोहलाई चोरीका सामानसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गिरोहले पोखरा-१८ मणिमार्गस्थित एक घरबाट करिब २५ तोला सुनका गरगहना र ७० हजार रुपैयाँ नगद, पोखरा-१७ छोरेपाटनबाट सुनका गहना, एक लाख ५० हजार रुपैयाँ नगद, ल्यापटप र मोबाइल, पोखरा-१८ भकुण्डेबाट सुनका गरगहना र दुई वटा मोबाइल, पोखरा-८ ज्ञानकुञ्ज मार्गस्थित विदेशी नागरिकको कोठाबाट मोबाइल र २५ हजार रुपैयाँ नगद तथा लेकसाइडस्थित एक घरबाट आईफोनसहित विभिन्न सामान चोरी गरेको खुलेको छ।

पक्राउ पर्नेमा भारतका राहुल निषाद र सोमनाथ हनुमन्त जाधव, चीनका वेन जी र वाङ लियानयिन तथा नेपालका राजकुमार विक, खिमबहादुर क्षेत्री (राजु केसी), अशोक पोखरेल, केशव पाइजा मगर र अनिल विक रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट नौ थान मोबाइल, एक थान स्मार्ट घडी, एक थान ल्यापटप तथा १.३९४ तोला तौलको सुनको ब्रेसलेट बरामद गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेका सबैलाई चोरी तथा डाँका सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ। साथै चोरीमा संलग्न अन्य व्यक्ति वा नेटवर्क भए/नभएको विषयमा पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.