काठमाडौं । एसीसी यू-१९ महिला प्रिमियर कपको सेमिफाइनलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई)सँग सुपर ओभरमा पराजित हुँदै फाइनल पुग्नबाट वञ्चित भएको छ।
मलेसियाको बायोमास ओभलमा शुक्रबार भएको रोमाञ्चक खेल निर्धारित २० ओभरमा बराबरी भएपछि सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा नेपालले दिएको ७ रनको लक्ष्य यूएईले तीन बलमै पूरा गर्दै फाइनलमा स्थान बनायो।
यसअघि यूएईले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा सबै विकेट गुमाएर ठ्याक्कै १०० रन बनाएपछि खेल बराबरी भएको थियो। नेपालका लागि अनु कडायतले सर्वाधिक २० रन बनाइन्। यूएईकी वैष्णवी महेशले तीन विकेट लिइन्।
टस जितेर पहिले ब्याटिङ गरेको यूएई १९.५ ओभरमा १०० रनमा अलआउट भएको थियो। यूएईका लागि मेहुल प्रणव कुलकर्णीले ३० रन बनाइन्। नेपालका रिया शर्मा र अनु कडायतले समान ३-३ विकेट लिए।
यस जितसँगै यूएईले फाइनलमा थाइल्यान्डसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा इन्डोनेसियालाई ३१ रनले पराजित गर्दै थाइल्यान्ड फाइनलमा पुगेको हो।
यद्यपि, सेमिफाइनलमा पुगेका चारै टोली आगामी एसीसी यू-१९ महिला एसिया कपका लागि छनोट भइसकेका छन्।
नेपालले क्वाटरफाइनलमा जापानलाई ९ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।





