काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ले निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताएका छन्।
उनले निर्माण व्यवसाय मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको प्रमुख आधार भएकाले यस क्षेत्रका व्यावहारिक समस्या समाधानलाई सरकारले प्राथमिकतामा राखेको स्पष्ट पारे।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघ का पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले विकास निर्माणका काम समयमै सम्पन्न गर्न सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
उनले निर्माण व्यवसायलाई पारदर्शी, मर्यादित र जिम्मेवार बनाउँदै विकास आयोजनालाई गति दिन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
भेटमा महासंघका पदाधिकारीहरूले भुक्तानीमा ढिलाइ, ठेक्का व्यवस्थापन, म्याद थप, मूल्य समायोजन, सार्वजनिक खरिद ऐन संशोधन, निर्माण सामग्रीको उपलब्धता तथा बैंकिङ लगानीसँग सम्बन्धित समस्या प्रधानमन्त्रीसमक्ष राखेका थिए।
उनीहरूले निर्माण क्षेत्रलाई चलायमान बनाउन नीतिगत र प्रशासनिक सहजीकरण आवश्यक रहेको धारणा पनि व्यक्त गरेका थिए।
छलफलपछि महासंघका महासचिव शिवहरि घिमिरे ले प्रधानमन्त्री निर्माण क्षेत्रका समस्याप्रति गम्भीर र सकारात्मक रहेको बताए।
उनका अनुसार रुग्ण आयोजनाको समस्या समाधानका लागि विशेष अध्ययन गरिने तथा मूल्य समायोजनका लागि आवश्यक बजेट व्यवस्थापनमा अर्थ मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाएका छन्।
महासंघले सार्वजनिक खरिद ऐन र नियमावली संशोधनलगायतका विषयमा सरकारले देखाएको तत्परताप्रति स्वागत गर्दै निर्माण क्षेत्रका समस्या समाधानतर्फ सकारात्मक पहल सुरु भएको विश्वास व्यक्त गरेको छ।





