काठमाडौँ। फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ। अन्तिम–१६ का सबै खेल सकिएसँगै अब उपाधि दौडमा आठ टोली मात्र बाँकी रहेका छन्।
अन्तिम-१६ मा साविक विजेता अर्जेन्टिनाले इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्था उल्ट्याउँदै रोमाञ्चक जित निकाल्यो भने स्विट्जरल्याण्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो।
यसपटक फ्रान्स, स्पेन, इङ्ग्ल्याण्ड र अर्जेन्टिनाजस्ता परम्परागत दाबेदारसँगै मोरक्को, बेल्जियम, नर्वे र स्विट्जरल्याण्डले पनि पहिलो पटक विश्वकपको ट्रफी उचाल्ने सपना कायम राखेका छन्।
पहिलो क्वार्टरफाइनलमा साविक उपविजेता फ्रान्स र २०२२ विश्वकपको सेमिफाइनलिस्ट मोरक्को आमनेसामने हुनेछन्। फ्रान्सका कप्तान किलियन एमबाप्पे उत्कृष्ट लयमा छन्।
उनले विश्वकपमा हालसम्म १९ गोल गरिसकेका छन् र अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको २१ गोलको कीर्तिमान नजिक पुग्ने अवसर पनि यस खेलमा हुनेछ।
मोरक्को भने फेरि एकपटक ठूलो उलटफेर गर्दै सेमिफाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। यो खेल नेपाली समयअनुसार असार २६ गते बिहान १ः४५ बजे बोस्टन स्टेडियममा हुनेछ।
दोस्रो क्वार्टरफाइनलमा २०१० को विश्वविजेता स्पेनले बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। लामिन यामाल, पेड्री, गाभी, रोड्री र निको विलियम्सको युवा टोलीमा भर परेको स्पेन उपाधि यात्रालाई निरन्तरता दिन चाहन्छ।
बेल्जियम भने रोमेलु लुकाकु र केभिन डी ब्रुयनको नेतृत्वमा पहिलो पटक विश्वकप जित्ने लक्ष्यमा छ। स्पेनका गोलरक्षक उनाइ सिमोनले प्रतियोगिताका पाँचै खेलमा क्लिन सिट राखेकाले बेल्जियमका आक्रमणकारीलाई गोल गर्न सहज हुने छैन। यो खेल असार २७ गते बिहान १२ः४५ बजे लस एन्जलस स्टेडियममा हुनेछ।
तेस्रो क्वार्टरफाइनलमा नर्वे र इङ्ग्ल्याण्डबीचको प्रतिस्पर्धा सबैभन्दा रोमाञ्चक हुने अपेक्षा गरिएको छ। प्रतियोगितामा ७ गोलसहित गोल्डेन बुट दौडको शीर्षमा रहेका नर्वेका एर्लिङ हालान्ड र ६ गोल गरेका इङ्ग्ल्याण्डका कप्तान ह्यारी केनबीचको भिडन्त खेलको मुख्य आकर्षण हुनेछ।
इङ्ग्ल्याण्डका युवा स्टार जुड बेलिङ्घमले पनि ४ गोल गर्दै टोलीलाई मजबुत साथ दिएका छन्। यो खेल असार २८ गते बिहान २ः४५ बजे मायमी स्टेडियममा सुरु हुनेछ।
चौथो तथा अन्तिम क्वार्टरफाइनलमा लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले स्विट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। इजिप्टविरुद्ध दुई गोलले पछि परेको अवस्था उल्ट्याएर जित निकालेको अर्जेन्टिना उच्च मनोबलका साथ सेमिफाइनल प्रवेशको लक्ष्यमा हुनेछ।
७२ वर्षपछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनल पुगेको स्विट्जरल्याण्ड भने अर्को इतिहास रच्दै अर्जेन्टिनालाई स्तब्ध पार्ने योजनामा हुनेछ। यो खेल असार २८ गते बिहान ६ः४५ बजे कान्सास सिटी स्टेडियममा खेलिनेछ।




