Nidan Media

खामेनीको अन्त्येष्टिमा लाखौँको सहभागिता, ट्रम्पको ‘नक्कली आँसु’ टिप्पणीले चर्कियो विवाद

काठमाडौँ । अमेरिका–इजरायल युद्धको सुरुवाती हवाई आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टि कार्यक्रम तेहरानमा लाखौँ श्रद्धाञ्जलीकर्ताको सहभागितासहित शुरू भएको छ।

युद्धका कारण तत्काल अन्त्येष्टि गर्न नसकिएकाले युद्धविरामपछि इरानले साताव्यापी राष्ट्रिय शोक र अन्त्येष्टि कार्यक्रम आयोजना गरेको हो।

तेहरानस्थित इमाम खोमेनी ग्रान्ड मुसल्लामा शनिबार खामेनीसहित उनकी छोरी, ज्वाइँ, बुहारी र १४ महिनाकी नातिनीको शव सर्वसाधारणका लागि राखिएको थियो।

कालो पोशाकमा आएका हजारौँ मानिसले छाती पिट्दै शोक व्यक्त गरेका थिए भने ‘अमेरिकालाई मृत्यु’ लगायतका नारासमेत लगाएका थिए।

अधिकारीहरूले आगामी केही दिनमा तेहरान, कोम, इराकका नजाफ र करबला हुँदै अन्तिम संस्कारका कार्यक्रम सम्पन्न गरी अन्ततः मशहदमा दफन गरिने बताएका छन्।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सञ्चारमाध्यम एक्सियससँगको अन्तर्वार्तामा अन्त्येष्टिमा मानिसहरू रोएको देखेर आफू अचम्ममा परेको बताएका छन्।

“मलाई लाग्थ्यो इरानीहरू खामेनीलाई घृणा गर्छन्। त्यसैले उनीहरू रोइरहेको देख्दा छक्क परेँ, सायद ती नक्कली आँसु हुन्,” ट्रम्पले भनेका छन्।

ट्रम्पले अन्त्येष्टिमा इरानका शीर्ष नेताहरू एकै स्थानमा उपस्थित रहे पनि अमेरिकाले आक्रमण नगरेको दाबी गर्दै “हामीले चाहे एकै प्रहारमा सबैलाई मार्न सक्थ्यौँ, तर त्यसो गर्यौँ भने वार्ता कससँग गर्ने?” भन्ने अभिव्यक्ति दिएका छन्। उनले इरानकै आग्रहमा शोक अवधिभर कुनै सैन्य आक्रमण नगर्ने सहमति भएको पनि बताएका छन्।

ट्रम्पको टिप्पणीप्रति इरानले कडा प्रतिक्रिया जनाएको छ। आर्मेनियास्थित इरानी दूतावासले सामाजिक सञ्जालमार्फत “तपाईंले सभ्यता, इतिहास र सम्मान नबुझेका कारण यस्ता भावना पनि बुझ्न सक्नुहुन्न” भन्दै ट्रम्पको अभिव्यक्तिको आलोचना गरेको छ।

युद्धपछिको तनाव कायम रहेकै बेला अन्त्येष्टि कार्यक्रमलाई इरानले राष्ट्रिय एकताको प्रदर्शनका रूपमा प्रस्तुत गरिरहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.