Nidan Media

रातो कार्डको चुनौती पार गर्दै इङ्गल्याण्ड अन्तिम आठमा

काठमाडौँ। इङ्गल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आज भएको तनावपूर्ण खेलमा मेक्सिकोलाई ३-२ ले पराजित गर्दै इङ्गल्याण्ड क्वार्टरफाइनलमा पुगेको हो ।

खेलमा निकै नै तनाव भएको थियो । मध्यान्तरसम्म २-१ ले अग्रता लिएको इङ्गल्याण्डले मध्यान्तरपछि एक गोल गर्दा एक गोल खाएको थियो ।

साथै खेलको ५४ औँ मिनेटमा फल खेलेका जारेल क्वान्साहले रातो कार्ड खाएसँगै इङ्गल्याण्ड १० जनामा समेटिएको थियो । भीएआरबाट क्वान्साहले रातो कार्ड खाएका हुन् ।

त्यसअघि खेलको ३६ औँ मिनेटमा जुड बेलिङ्घमले इङ्गल्याण्डलाई प्रारम्भिक अग्रता दिलाए । बुकायो साकाको पासमा बेलिङ्घमले गोल गरेका हुन् ।

त्यसको दुई मिनेटमै बेलिङ्घमले अर्को गोल थपे । ह्यारि केनको पासमा बेलिङ्घमले दोस्रो गोल गरेका हुन् ।

४२ औँ मिनेटमा मेक्सिकोका युलियन क्विनोनेसले गोल गर्दै अन्तर २-१ मा झारे । मध्यान्तरको इन्जुरी समयमा मेक्सिकोले निकै दबाबमा राखे पनि गोल भने गर्न सकेन ।

५४ मिनेटपछि १० जनामा समेटिएको भए पनि इङ्गल्याण्डले ६० औँ मिनेटमा तेस्रो गोल गर्यो । मेक्सिकोका खेलाडीले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि पाएको पेनाल्टीलाई ह्यारि केनले गोलमा परिणत गरेका थिए ।

६९ औँ मिनेटमा भीएआरबाट निर्णय लिई मेक्सिकोलाई पेनाल्टी दिइयो । राउल जिमेनेजले पेनाल्टीलाई गोलमा परिणत गर्दै मेक्सिकोलाई ३-२ को स्थितिमा ल्याए ।

त्यसपछि दुवैतर्फ कुनै गोल नहुँदा इङ्गल्याण्ड ३-२ को जितसहित क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

खेलका क्रममा इङ्गल्याण्डका एक खेलाडीलाई रातो कार्ड तथा चार खेलाडीलाई पहेँलो कार्ड देखाइएको थियो । त्यस्तै मेक्सिकोका दुई खेलाडीलाई पहेँलो कार्ड देखाइएको थियो ।

इङ्गल्याण्डले सात ओटा फाउल खेल्दा मेक्सिकोले १४ ओटा फाउल खेलेको थियो । घरेलु मेक्सिको सिटीको मैदानमा खेलेको मेक्सिकोले ६७ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको भए पनि जित भने हासिल गर्न सकेन ।

मेक्सिको अहिलेसम्म दुई पटक क्वार्टरफाइनलमा पुगेको छ । सन् १९७० र १९८६ मा मेक्सिको क्वार्टरफाइनलमा पुगेको थियो ।

सबैभन्दा बढी आयोजना गर्ने राष्ट्र भने बनेको छ । मेक्सिकोले तीन पटक सन् १९७०, १९८६ र अहिले गरी तीन पटक विश्वकप आयोजना गरेको हो ।

यता सन् १९५० देखि विश्वकप खेल्न थालेको इङ्गल्याण्डले अहिलेसम्म एकपटकमात्र उपाधि जितेको छ । सन् १९६६ को उपाधि जितेपछि उसले उपाधि उचाल्न सकेको छैन ।

इङ्गल्याण्ड दुई पटक सेमिफाइनलमा पुगेको छ भने ७ पटक क्वार्टरफाइनलमा पुगेको छ । पछिल्लो समय सन् २०१८ मा चौथो भएको इङ्गल्याण्ड २०२२ मा क्वार्टरफाइनलमा पुगेको थियो । र, यसपालि पनि क्वार्टरफाइनलमा पुगेको छ ।

विश्वकपको अन्तिम ३२ मा मेक्सिकोले इक्वेडरलाई २-० ले हराएको थियो भने इङ्गल्याण्डले डीआर कंगोलाई २-१ ले पराजित गरेको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.