पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेका पाँच जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार कास्की जिल्ला अदालतबाट विभिन्न कसुरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका फरार प्रतिवादीहरूको खोजतलासका क्रममा उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो।
पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी शुक्रबार नै कास्की जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। उनीहरूबाट कुल ५ महिना ९ दिन कैद र रु. ६९ हजार ३२८ जरिवाना असुल हुन बाँकी रहेको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये चेक अनादर मुद्दाका दुई जना, चोरी मुद्दाका एक जना, कर्तव्य ज्यान मुद्दाका एक जना तथा केही सार्वजनिक कसुर मुद्दाका एक जना रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीले अदालतबाट सजाय तोकिएर फरार रहेका प्रतिवादीलाई कानूनी दायरामा ल्याउने अभियानलाई निरन्तर जारी राखिएको जनाएको छ। साथै, फरार प्रतिवादीहरूको खोजी तथा पक्राउलाई थप प्रभावकारी बनाइने पनि प्रहरीले जनाएको छ।




