Nidan Media

पश्चिम नेपालका साना नदीमा बहाव बढ्ने, आकस्मिक बाढीको जोखिमबाट सतर्क रहन आग्रह

काठमाडौँ । देशका विभिन्न भागमा जारी वर्षासँगै शुक्रबार पश्चिम नेपालका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरिएको छ।

बाढी पूर्वानुमान महाशाखाले केही क्षेत्रमा आकस्मिक बाढीको न्यून जोखिम रहेकाले नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार कास्की, पर्वत, म्याग्दी, बर्दिया, कैलाली लगायत आसपासका जिल्लाबाट बग्ने साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ।

ती क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने न्यून जोखिम रहेकाले नदी तटीय क्षेत्र, खोला आसपास तथा डुबान हुन सक्ने स्थानमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

यस्तै, नारायणी, त्रिशूली, बूढीगण्डकी, मस्र्याङ्दी, सेती, कालीगण्डकी, कर्णाली, भेरी र पश्चिम सेती नदीमा पनि आज पानीको बहाव बढ्ने पूर्वानुमान गरिएको छ। यद्यपि यी नदीहरू तत्काल सतर्कता तह पार गर्ने अवस्थामा भने नरहेको महाशाखाले जनाएको छ।

अन्य प्रमुख नदीहरूमा पानीको बहाव सामान्य उतारचढावको अवस्थामै रहने अनुमान गरिएको छ। तर निरन्तर वर्षा भइरहेका क्षेत्रमा नदीको सतह छोटो समयमा बढ्न सक्ने भएकाले स्थानीयवासी, यात्रु तथा नदीजन्य गतिविधिमा संलग्न व्यक्तिलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मनसुन सक्रिय रहेकाले आगामी दिनमा वर्षाको अवस्था अनुसार नदीको बहावमा थप परिवर्तन आउन सक्ने भएकाले मौसम तथा बाढीसम्बन्धी अद्यावधिक सूचनालाई नियमित रूपमा पछ्याउन पनि महाशाखाले आग्रह गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.