Nidan Media

रास्वपाभन्दा अग्लो बन्न चाहन्छौँ, तर खुट्टा काटेर होइन : गगन थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दुश्मन नभई प्रमुख प्रतिस्पर्धी दल भएको बताएका छन् ।

चितवनमा रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले कांग्रेस र रास्वपाबीच राजनीतिक प्रतिस्पर्धा भए पनि शत्रुताको सम्बन्ध नरहेको स्पष्ट पारे ।

उनले रास्वपाले प्राप्त गरेको जनमत देखेर आफूलाई लोभ लागेको बताउँदै कांग्रेसलाई अझ सशक्त र लोकप्रिय बनाउने लक्ष्य रहेको उल्लेख गरे । तर त्यो लक्ष्य रास्वपालाई कमजोर बनाएर नभई आफ्नै कार्यशैली र इमान्दार प्रयासबाट हासिल गर्ने उनको भनाइ थियो ।

थापाले कांग्रेसले अरूलाई होच्याएर होइन, आफ्ना कमजोरी सुधारेर राजनीतिक उचाइ हासिल गर्न चाहेको बताए ।

संसदमा प्रतिस्पर्धी दलका रूपमा आवश्यक पर्दा सरकारको आलोचना र आवश्यक पर्दा समर्थन तथा सहकार्य दुवै गर्ने उनले उल्लेख गरे ।

उनले भने, “नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिष्पर्धी हो, दुश्मन होइन । हामी प्रतिष्पर्धा गर्ने हो । तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ। हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौँ र एक दिन बन्छौँ पनि । तर तपाईंहरूलाई सानो बनाएर, खुट्टा काटेर होइन। मन, वचन र कर्मले इमान्दारितापूर्वक काम गरेर हामी अग्लो बन्न चाहन्छौँ । हामी सफा हुन चाहन्छौँ, तर तपाईंहरूलाई फोहोर देखाएर होइन ।”

“आफ्नो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौँ । हामी तपाईंहरूको दुश्मन होइनौँ । संसदमा प्रतिष्पर्धी छौँ । जहाँ प्रश्न उठाउनुपर्ने हो, औँला ठड्याउनुपर्ने हो त्यहाँ औँला ठड्याउँछौँ । जहाँ ताली बजाउनुपर्ने हो, त्यहाँ ताली बजाउँछौँ”,सभापति थापाले भने ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.