काठमाडौँ । नेपाली कांग्रेसका सांसद गणेशबहादुर विश्वकर्माले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति राष्ट्रिय भावना, सार्वभौमिकता र भौगोलिक अखण्डताविपरीत रहेको दाबी गर्दै त्यसलाई सच्याउन माग गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै यस्तो अभिव्यक्तिले देशको सीमा र ऐतिहासिक तथ्यलाई कमजोर पार्ने प्रयास भएको टिप्पणी गरे।
उनले आफू सुदूरपश्चिम प्रदेशको बासिन्दा तथा महाकाली क्षेत्रसँग सम्बन्धित सीमासम्बन्धी आन्दोलन र कालापानी मार्चपासमा सहभागी विद्यार्थी नेताको हैसियतले सीमाको रक्षाका लागि सधैं प्रतिबद्ध रहेको बताए।
सांसद विश्वकर्माले सुगौली सन्धिपछिको सीमा निर्धारण, लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्रसम्बन्धी ऐतिहासिक दस्तावेज, सरकारी प्रतिवेदन तथा नक्सालाई आधार मानेर उक्त क्षेत्र नेपालकै भूमि भएको दाबी गरे।
उनले व्यास उपत्यकाका विभिन्न गाउँहरू नेपालको भूभागमा पर्ने ऐतिहासिक तथ्य पनि संसदमा प्रस्तुत गरे। उनका अनुसार कुटी, नाभी, गुञ्जी, छाङ्रु, ऋषि गाउँ र टिंकरलगायत गाउँहरू नेपालतर्फ पर्ने तथ्य पुराना प्रशासनिक अभिलेख र मालपोत रसिदले पुष्टि गर्छन्।
उनले प्रधानमन्त्रीको अभिव्यक्तिपछि सीमावासी नागरिक भावनात्मक रूपमा आहत भएको दाबी गर्दै उक्त भनाइप्रति पुनर्विचार गर्न आग्रह गरे।
सांसद विश्वकर्माले सुशासन र सरकारका केही सार्वजनिक व्यवहारबारे पनि प्रश्न उठाउँदै कार्यशैली सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।




