Nidan Media

चार गोलसहित स्वीट्जरल्याण्डको प्रभावशाली प्रदर्शन, कठिन बन्दै बोस्नियाको यात्रा

काठमाडौँ । अमेरिकाको इङ्गलउडस्थित लस एन्जलस रंगशालामा सम्पन्न विश्वकप फुटबलको समूह ‘बी’ अन्तर्गतको खेलमा स्वीट्जरल्याण्डले बोस्निया र हर्जेगोभिनालाई ४-१ ले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा स्वीट्जरल्याण्डले आक्रामक प्रदर्शन गर्दै चार गोल गर्यो।

खेलको ७१औँ मिनेटमा वैकल्पिक खेलाडी योहान मान्जाम्बीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि ८४औँ मिनेटमा रुबेन भार्गासले अर्को गोल थपे।

बोस्नियाका तारिक मुहारेमोभिचले ब्रिल एम्बोलोलाई व्यावसायिक फउल गरेपछि रातो कार्ड पाउँदै मैदान छाड्नुपरेको थियो। दश खेलाडीमा सीमित भएको बोस्नियामाथि स्विस टोलीले थप दबाब बनायो।

९०औँ मिनेटमा भार्गासकै पासमा मान्जाम्बीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। अतिरिक्त समयको तेस्रो मिनेटमा एर्मिन माहमिकले शक्तिशाली प्रहारमार्फत बोस्नियाका लागि सान्त्वना गोल फर्काए।

तर खेलको अन्तिम क्षणमा कप्तान ग्रानीट झाकाले पेनाल्टीमार्फत गोल गर्दै स्वीट्जरल्याण्डलाई ४-१ को प्रभावशाली जित दिलाए।

यो जितसँगै स्वीट्जरल्याण्डले दुई खेलबाट चार अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थान कब्जा गरेको छ। समान चार अंक भए पनि क्यानडा दोस्रो स्थानमा छ। बोस्निया र हर्जेगोभिना तथा कतारको समान १-१ अंक छ।

२० वर्षे मान्जाम्बी विश्वकपमा स्वीट्जरल्याण्डका लागि एकै खेलमा दुई वा बढी गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।

उनी वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेर विश्वकपमा स्वीट्जरल्याण्डका लागि एकभन्दा बढी गोल गर्ने पहिलो खेलाडीसमेत बने।

योहान मान्जाम्बी

खेलपछि स्वीट्जरल्याण्डका प्रशिक्षक मुराट याकिनले टोलीले धैर्यका साथ अवसर पर्खिएको र रणनीतिक परिवर्तन सफल भएको बताए।

बोस्नियाका प्रशिक्षक सर्गेइ बार्बारेजले शुरूआती चरणमा आफ्नो टोली राम्रो खेले पनि स्विस टोलीका उत्कृष्ट व्यक्तिगत क्षमताले खेलको नतिजा बदलिदिएको प्रतिक्रिया दिए।

दुई गोल गर्दै खेलको उत्कृष्ट खेलाडी घोषित मान्जाम्बीले यो आफ्नो करियरकै उत्कृष्ट क्षण भएको बताउँदै टोलीले धैर्य र एकताका साथ उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गरे।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.