Nidan Media

महिला टी-२० विश्वकप क्रिकेट: भारत र पाकिस्तान भिड्दै

काठमाडौँ । इङ्ग्ल्यान्डमा जारी महिला टी-२० विश्वकप क्रिकेटअन्तर्गत आज भारत र पाकिस्तानबीच बहुप्रतीक्षित खेल हुँदैछ । खेल बेलुकी सवा ७ बजे बर्मिङ्घमको एजबेस्टन स्टेडियममा शुरू हुनेछ ।

यो प्रतियोगितामा दुई टोलीबीचको पहिलो भिडन्त हो । पछिल्लो टी-२० विश्वकपमा भारत सेमिफाइनलसम्म पुगेको थियो भने पाकिस्तान समूह चरणबाटै बाहिरिएको थियो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत र पाकिस्तानबीच हालसम्म १६ खेल भएका छन्, जसमा भारतले १३ खेल जितेको छ भने पाकिस्तानले ३ खेल मात्र जितेको छ । टी-२० विश्वकपको इतिहासमा यी दुई टोली आठ पटक आमनेसामने भएका छन्, जसमा भारतले ६ खेल जित्दा पाकिस्तानले २ खेल जितेको छ ।

भारत यसपटक पनि उपाधि दाबेदारका रूपमा हेरिएको छ । टोलीको शीर्षक्रम ब्याटिङ निकै मजबुत मानिएको छ ।

शेफाली वर्मा र स्मृति मन्धानाले पछिल्ला खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् भने कप्तान हरमनप्रीत कौरले अनुभवसहित नेतृत्व गरिरहेकी छिन् । मध्यक्रममा जेमिमा रोड्रिग्स, रिचा घोष र दीप्ती शर्माले स्थिरता दिएका छन् ।

बलिङतर्फ श्री चरणी, दीप्ती शर्मा र अरुन्धती रेड्डी प्रभावशाली देखिएका छन् । उता पाकिस्तान टोलीले पछिल्लो समय बंगलादेशलाई ३-० ले पराजित गर्दै आत्मविश्वास बढाएको छ ।

तर, पाकिस्तानका लागि चोटको झट्का पनि लागेको छ । कप्तान फातिमा साना अभ्यासका क्रममा घुँडामा चोट लागेपछि आजको खेल गुमाउने सम्भावना रहेको बताइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.