Nidan Media

पहिलो खेलमै ब्राजिल रोकियो, मोरक्कोसँग १-१ को बराबरी

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतिक्षित खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले पहिलो खेलमै अंक बाँड्न बाध्य भएको छ। अफ्रिकी शक्तिराष्ट्र मोरक्कोले ब्राजिललाई १–१ को बराबरीमा रोक्दै महत्वपूर्ण एक अंक बटुलेको हो।

न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार भएको खेलमा मोरक्कोले सुरुआती अग्रता बनाएको थियो। खेलको २१औँ मिनेटमा इस्माइल साइबारीले गोल गर्दै एट्लास लायन्सलाई अघि बढाए।

ब्राजिलले ३२औँ मिनेटमा खेलमा पुनरागमन गर्‍यो। ब्रुनो गुइमाराएसको पासमा भिनिसियस जुनियरले उत्कृष्ट फिनिस गर्दै बराबरी गोल गरे। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन र खेल १–१ को बराबरीमा सकियो।

पहिलो हाफमा ब्राजिलले ५४ प्रतिशत बल नियन्त्रणमा राखेको थियो भने खेलको अन्त्यसम्म त्यो अन्तर घटेर ५२-४८ प्रतिशतमा सीमित रह्यो। ब्राजिलले पहिलो हाफमै दुई पहेँलो कार्ड पनि बेहोरेको थियो।

कतार विश्वकप २०२२ मा सेमिफाइनल पुगेर इतिहास रचेको मोरक्कोले यसपटक पनि आफूलाई उपाधि दाबेदार टोलीविरुद्ध चुनौतीपूर्ण प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत गरेको छ। सन् २०२३ यता मोरक्कोले ४५ खेलमा ३३ जित, १० बराबरी र दुई हारको नतिजा निकालेको छ।

उता, विश्वकपका सबै संस्करणमा सहभागी भएको एकमात्र राष्ट्र ब्राजिल २४ वर्षपछि विश्वकप उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिएको छ। पाँच पटकको च्याम्पियन ब्राजिलले हालसम्म विश्वकपमा ११४ खेल खेल्दै ७४ जित हात पारेको छ, तर सन् २००२ पछि उपाधि जित्न सकेको छैन।

मुख्य प्रशिक्षक कार्लो एन्सिलोटीको नेतृत्वमा पहिलो विश्वकप खेलिरहेको ब्राजिलले सुरुआती खेलबाट अपेक्षित नतिजा निकाल्न सकेन। टोलीका अनुभवी फरवार्ड नेइमार भने ‘काफ इन्जुरी’का कारण यस खेलमा अनुपस्थित रहे।

मोरक्कोका लागि भने यो बराबरी आत्मविश्वास बढाउने नतिजा बनेको छ, जबकि ब्राजिलले नकआउट चरणको सम्भावना बलियो बनाउन बाँकी खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने दबाब महसुस गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.