काठमाडौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै चेक गणतन्त्रविरुद्ध २-१ को अग्रता बनाएको छ।
एक गोलले पछि परेको अवस्थामा दक्षिण कोरियाका ओह ह्योन-ग्युले खेलको ८०औँ मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई पहिलो पटक अग्रता दिलाएका हुन्।
यसअघि चेक गणतन्त्रका लाडिस्लाभ क्रेज्चीले ५९औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, दक्षिण कोरियाले ६७औँ मिनेटमा ह्वाङ इन-बोमको गोलबाट खेल बराबरीमा ल्याएको थियो।
बराबरीपछि चेक गणतन्त्रले पुनः गोल गरे पनि भिडियो सहायक रेफ्री (भिएआर) को परीक्षणपछि उक्त गोल अफसाइड ठहर हुँदै मान्यता पाएन। त्यसको केहीबेरमै दक्षिण कोरियाले आक्रामक खेललाई निरन्तरता दिँदै ओह ह्योन-ग्युको गोलमार्फत २-१ को अग्रता बनाएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दक्षिण कोरियाले शुरूदेखि नै बलमाथि नियन्त्रण राख्दै लगातार दबाब सिर्जना गरेको थियो।
दोस्रो हाफमा भने चेक गणतन्त्रले अग्रता लिए पनि दक्षिण कोरियाले शानदार पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्ने संकेत गरेको छ।



