Nidan Media

नेपाल थाइल्यान्डसँग पराजित, फेरि टुट्यो एसिया कपको सपना

काठमाडौँ । नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कपको क्वाटरफाइनलबाट बाहिरिँदै एसिया कपमा छनोट हुन असफल भएको छ।

बुधबार मलेसियाको वायुमास ओभलमा भएको क्वाटरफाइनलमा थाइल्यान्डसँग ५६ रनले पराजित भएपछि नेपालको एसिया कप यात्रा टुंगिएको हो।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १३० रन बनाएको थियो। थाइल्यान्डका लागि नानापत कोन्चारोन्काइले ५१ बलमा अविजित ६३ रनको अर्धशतकीय इनिङ्स खेलिन्।

फनिता मायाले २६ तथा चनिदा सुथिराङले १६ रनको योगदान दिए। नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले समान एक–एक विकेट लिए।

१३१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो। नेपालको ब्याटिङमा रुबिना क्षेत्रीले अविजित २० रन बनाउँदै सर्वाधिक स्कोर गरिन्। सोनी पाख्रिनले १५, सीता रानामगरले १२ तथा सम्झना खड्काले ११ रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

थाइल्यान्डको जितमा थिपात्चा पुथावङले ४ ओभरमा ७ रन खर्चेर २ विकेट लिइन्। सुनिदा चतुरोङरतना र सुलिपर्न लाओमीले समान २-२ विकेट लिए भने फनिता मायाले १ विकेट हात पारिन्।

यस हारसँगै नेपाली महिला टोली लगातार दोस्रो प्रमुख अन्तर्राष्ट्रिय छनोट प्रतियोगितामा लक्ष्य हासिल गर्नबाट वञ्चित भएको छ। यसअघि गत साता सम्पन्न एसियन गेम्स छनोट प्रतियोगितामा पनि नेपाल निर्णायक खेलमा चीनसँग पराजित हुँदै छनोट हुन सकेको थिएन।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.