रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त पाँच नयाँ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
मुख्यमन्त्री आचार्यले सत्ता साझेदार दल नेकपा एमालेबाट चार र जनता समाजवादी पार्टीबाट एक जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
शपथसँगै मन्त्रीहरूको कार्यविभाजन पनि सार्वजनिक गरिएको छ । जसमा तुलसीप्रसाद चौधरीले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
साथै डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मा दिइएको छ। रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा छन् ।
यस्तै रत्नबहादुर खत्रीले भौतिक पूर्वाधार विकास मन्त्रालय सम्हाल्ने भएका छन् भने जनता समाजवादी पार्टीका भण्डारीलाल अहिरले आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
यसअघि कार्यविभाजनविना नै मन्त्री बनेका उनीहरूलाई सोमबार औपचारिक रूपमा जिम्मेवारी तोकिएको हो ।
मन्त्रिपरिषद् विस्तारसँगै प्रदेश सरकारको प्रशासनिक गति बढ्ने अपेक्षा गरिएको छ ।
तर सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट र आगामी नीतिगत प्राथमिकताबारे राजनीतिक चासो पनि बढेको छ ।




