काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सहभागी नहुने भएका छन्।
रास्वपाले आज (सोमबार) बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा सर्वदलीय बैठक आह्वान गरेको हो। संसद्मा देखिएको गतिरोध र समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउन बैठक आयोजना गरिएको रास्वपाले जनाएको छ।
बैठकमा संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका अध्यक्ष वा सभापतिसहित दुई/दुई जना नेतालाई आमन्त्रण गरिएको छ।
यसैबीच कांग्रेस सभापति गगनकुमार थापा बैठकमा सहभागी नहुने भएका छन्। कांग्रेसका तर्फबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र सांसद फिरदोश आलम सहभागी हुने कार्यक्रम रहेको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकलाई व्यवस्थित र निर्णयमुखी बनाउन प्रत्येक दलबाट शीर्ष नेतृत्वसहित दुई जना प्रतिनिधिलाई निमन्त्रणा गरिएको बताएका छन्।
प्रधानमन्त्री वालेन्द्र साह (बालेन) को नेपाल-भारत सीमा विवादसम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा उत्पन्न गतिरोधका बीच बोलाइएको यो बैठकलाई राजनीतिक सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ। बैठकबाट साझा धारणा बने संसद्को अवरोध अन्त्य गर्न समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।




