Nidan Media

एसियन गेम्स छनोटको उपाधिका लागि आज नेपाल र हङकङ भिड्दै

काठमाडौँ । एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा आज नेपालले उपाधिका लागि हङकङसँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र हङकङबीचको फाइनल खेल सिङ्गापुरस्थित सिङ्गापुर नेसनल क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे सुरु हुनेछ।

नेपालले आइतबार भएको सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो।

नेपालको जितमा लोकेश बमले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ४४ रन बनाए। ओपनर कुशल भुर्तेलले २० तथा कप्तान रोहित पौडेलले अविजित २१ रनको योगदान दिए। ओमानका लागि समिर ओथामनले दुई विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको ओमान १९.४ ओभरमा ९४ रनमा समेटिएको थियो। ओमानका कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८ रन बनाए भने जुबिर अली अकबरले २२ र अब्दुलजाली खानले १६ रन जोडे।

बलिङ र ब्याटिङ दुवै विभागमा उत्कृष्ट लयमा रहेको नेपाल आज हङकङलाई पराजित गर्दै एसियन गेम्स छनोट प्रतियोगिताको उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रिनेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.