बागलुङ । बागलुङको ताराखोला गाउँपालिकास्थित निर्माणाधीन जलविद्युत् आयोजनामा काम गर्ने एक मजदुरको फलामे पाइपले च्यापिँदा मृत्यु भएको छ ।
ताराखोला गाउँपालिका-५ धस्मरस्थित आयोजनामा कार्यरत रोल्पाको सुनछहारी गाउँपालिका-३ निवासी २० वर्षीय दिलबहादुर विकको दुर्घटनामा मृत्यु भएको हो ।
डोजरबाट खसेको फलामे पाइपले च्यापिएर गम्भीर घाइते भएका विकलाई उपचारका लागि गलकोट नगरपालिका-३ हटियास्थित इमर्जेन्सी अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा शनिबार दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख फणीन्द्रप्रसाद प्रसाईंले बताएका छन् ।
घटनापछि डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक विकको शव इमर्जेन्सी अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





